माथिल्लो कर्णालीका जुम्ला, मुगु, डोल्पा, कालीकोट र हुम्लामा उत्पादन हुने रैथाने बालीको बजारीकरणमा समस्या छैन। माथिल्लो कर्णालीको पाँच जिल्लामध्ये विशेषगरी जुम्लामा रैथाने बालीको बढी उत्पादन हुने गर्छ। जुम्लामा उत्पादन हुने विषादीमुक्त प्रांषारिक रैथाने बाली र फलफूलको चन्दननाथ मिनीमार्केटले बजारीकरण गर्दै आएको छ। यो मिनीमार्केट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले सञ्चालन गरेको हो।
सहकारीका सदस्यसहित अन्य नागरिकले आफ्नै खेतबारीमा उत्पादन गरेका रैथाने अन्नबाली र फलफूल मिनीमार्केटले देशभरि बिक्री गर्दै आएको छ। जुम्लाको सदरमुकाम खलंगादेखि कालीकोटसँगको सिमाना नाग्म, कर्णाली प्रदेश मुकाम सुर्खेत र काठमाडौंसमेत मिनीमार्केटको शाखा सञ्चालनमा छन्। मिनीमार्केटमार्फत गत वर्षमा डेढ करोड रुपैयाँको रैथाने अन्नबाली र फलफूल बिक्री भएको छ। जुम्ली रैथाने वस्तुको माग बढ्दै गएपछि गत वर्ष उक्त रकमबराबरको बिक्री भएको हो। स्वास्थ्यका लागि लाभदायी र स्वादिष्ट हुने भएकाले पनि राष्ट्रिय बजारमा जुम्ली रैथाने बालीको माग बढ्दो छ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित अर्ग्यानिक मिनीमार्केटले मागअनुसार रैथाने अन्नबाली र फलफूल सुपथ र सस्तो मूल्यमा लेबलिङ र प्याकेजिङ गरेर बिक्री गर्दै आएको छ। मिनीमार्केटले बिक्री गरेको डेढ करोड रुपैयाँको अर्ग्यानिक वस्तु सबै जिल्लाबाहिर र देशबाहिर मात्रै पुगेको छ। जसले गर्दा जुम्लामा उत्पादित वस्तुको माग बढेको देखिन्छ। सिमी, मार्सी चामल, ओखर, स्याउका चाना, सिस्नोको धुलो, फापरको पिठो, चिनो, कागुनो, राडीपाखी, महलगायत ३० प्रकारका वस्तु मिनीमार्केटले प्याकेजिङ गरेर बिक्री गर्दै आएको छ।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३५ लाखको सिमी, ३० लाखको मार्सीचामल, २३ लाखको फापरको पिठो, पाँच लाखको मह, २९ लाखको स्याउका चाना, नाै लाखको ओखर, १४ लाखको राडीपाखी बिक्री भएको थियो। त्यस्तै, चार लाख ८० हजारको लिउ, १० लाख ५० हजारको ऊनको कोटेकाे कपडा, पाँच लाख ९५ हजारको चिनो, चार लाख ८० हजारको कागुनो र नौ लाख ९५ हजारको सिस्नो गरेर गत वर्ष कुल एक करोड ५२ लाख ८० हजार रुपैयाँको अर्ग्यानिक रैथाने वस्तु मिनीमार्केटबाट बिक्री भएको चन्दननाथ सहकारीका सामुदायिक विभाग प्रमुख गोरबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार मिनीमार्केटमा दसैँ–तिहार र चैत–वैशाखको समयमा अत्यधिक अर्ग्यानिक वस्तुको माग हुन्छ।
दसैँ बिदामा घर जाँदा जिल्लाबाहिरका कर्मचारीले लाखौँको वस्तु किन्ने गरेको उनको भनाइ छ। गत आर्थिक वर्षमा एक करोड ६९ लाखबराबरको अर्ग्यानिक वस्तु खरिद गरिएकोमा एक करोड ५२ लाखको बिक्री भएको थियो। हाल १७ लाखबराबरको वस्तु मौज्दात छ। यो दसैँमा सबै सकिने अनुमान छ। मिनीमार्केटले गत आवमा खुद आम्दानी मात्रै ३० लाखभन्दा बढी गरेको छ। मिनीमार्केटले सातजनालाई नियमित रोजगारी दिइरहेको छ।
चन्दननाथ सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले लोपोन्मुख रैथाने बालीको उत्पादन बढाउन र पर्यटकलाई अर्ग्यानिक खानामा आकर्षण गर्न सहकारीमार्फत अर्ग्यानिक मिनीमार्केट सञ्चालन गरेको बताए। उनले भने, ‘हाल सहकारीमा २५ हजार सदस्य छन्। मिनीमार्केटले सहकारी सदस्यको उत्पादन मात्रै खरिद गर्छ। पैसासँग वस्तु साटिरहेका छौँ। कुनै सदस्यलाई पैसा आवश्यक परे लिन्छन्। नभए बचत खातामा जम्मा गर्छन्।’
यस्ता वस्तु जुम्लामै लेबलिङ र प्याकेजिङ हुन्छ। अर्डरअनुसार सुर्खेत, नेपालगन्ज, काठमाडौं, विराटनगर, बुटवल धनगढीलगायतका सहरमा पनि पुर्याउने गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलनजिक पनि अर्ग्यानिक मिनीमार्केटको शाखा विस्तार गरिएको छ। जुम्लामा प्रायः ठुला कार्यक्रममा भिआइपीको आगमन भइरहेको हुन्छ। साथै राराताल गएर जुम्ला फर्किने पर्यटकको संख्या पनि उल्लेखनीय रहेको छ। जसका कारण स्याउका चाना, सिमी, ओखर, खरायोको टोपी सबैभन्दा बढी बिक्री हुने गरेको छ।