राष्ट्रिय महिला लिग : रश्मि सर्वाधिक गोल गर्ने खेलाडी

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण

लिगको पहिलो चरण सम्पन्न हुन एक मात्रै खेल बाँकी रहँदा १८९ गोल भएका छन्, जसमा एपिएफकी रश्मि एक्लैले १८ गोल गरिसकेका छिन् 

रश्मिकुमारी घिसिङ : क्लब– एपिएफ, गोल–१८ 

राष्ट्रिय महिला लिगको पहिलो चरणमा स्ट्राइकर रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता बनेकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सदस्यसमेत रहेकी विभागीय टोली एपिएफ क्लबकी रश्मिले पहिलो चरणमा ९ खेल खेल्दा १८ गोल गरिन् । २२ वर्षीय खेलाडीले कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा बागमती युवा क्लबविरुद्ध ह्याट्रिक गरेकी छिन् । 

कोशी र बागमतीविरुद्ध समान पाँच, सुदूरपश्चिमविरुद्ध १९–० को जितमा चार गोल गर्दा कर्णालीलाई दुई तथा वालिङ र चन्द्रपुरविरुद्ध समान एक गोल गरेकी हुन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिग खेल्ने भएपछि प्रशिक्षक जिवेशकुमार पाण्डेले रश्मिलाई मुख्य स्ट्राइकर बनाएका थिए । ०७८ सालमा त्रिभुवन आर्मीबाट खेलेकी रश्मि यसपटक एपिएफमा अनुबन्ध भएकी हुन् । 

एपिएफबाट डेब्यु लिगमै चन्द्रपुरकी रश्मिले आफूलाई प्रमाणित गरेकी छिन् । ०७८ को लिगमा सावित्राले सात खेल खेल्दै १४ गोल गरेकी थिइन् । उनीपछि वालिङबाट खेलेकी युगान्डाकी स्ट्राइकर ज्याकलिन सालिनीसहित विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपा शाही, अमिषा कार्की, चन्द्रा भण्डारीले समान आठ गोल गरेका छन् । 

एक खेल बाँकी रहँदा पहिलो चरणबाट शीर्ष पाँचमा रहँदै एपिएफसँगै आर्मी, नेपाल पुलिस, वालिङ र कोशी दोस्रो चरणमा प्रवेश गरेका छन् । महिला लिगमा डेब्यु गरेका बागमती र संकटासँगै चन्द्रपुर नगरपालिका, कर्णाली र सहभागितामै सीमित भएको सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् । 

दीपा शाही : क्लब– आर्मी, गोल– ८
राष्ट्रिय टोलीकी सदस्य दीपाले त्रिभुवन आर्मीबाट खेल्दै लिगको पहिलो चरणमा आठ गोेल गरेकी छिन् । उनकै प्रदर्शनमा आर्मी २२ अंकसहित दोस्रो स्थानमा रहन सफल भयो । हुम्लाकी १८ वर्षीया दीपाले सुदूरपश्चिम प्रदेशविरुद्ध १४–१ को जितमा एक्लै पाँच गोल गरेकी थिइन् । चन्द्रपुर नगरपालिकाविरुद्ध दुई तथा कर्णालीविरुद्ध एक गोल गरिन् । दीपाले सुदूरपश्चिमविरुद्ध पहिलो हाफमै ह्याट्रिक गर्न सफल भएकी थिइन् । अघिल्लो सिजनमा मात्रै उनी भारतीय आइलिग टोली किक स्टार्सबाट खेलेकी थिइन् । 

ज्याकलिन नासाली : क्लब – वालिङ, गोल– ८
युगान्डाबाट पहिलोपटक नेपाली लिग खेल्न आएकी नासाली आठ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छिन् । ४४ खेल सम्पन्न हुँदा ज्याकलिनले दुई ह्याट्रिक पूरा गरेकी छिन् । उनले आफ्नो पहिलो खेलमै डेब्यु गरिरहेको संकटाविरुद्ध तीन गोल गरेकी थिइन् । त्यसपछि बागमतीविरुद्ध ह्याट्रिक गरेकी हुन् । सुदूरप्श्चिम प्रदेश र कर्णाली प्रदेशविरुद्ध उनले समान तीन गोल गरिन् । उनकै उच्च प्रदर्शनमा वालिङ शीर्ष पाँचमा स्थान बनाउन सफल भयो । 

अमिषा कार्की : क्लब– आर्मी, गोल– ८ 
आर्मीले लिगमा दोस्रो स्थान प्राप्त गर्दा स्ट्राइकर अमिषा कार्कीको प्रदर्शन उच्च रह्यो । उनी यस लिगमा निकै लयमा पनि रहिन् । लगातार दोस्रोपटक आर्मीबाट खेलेकी अमिषाले यसपटक चन्द्रपुरविरुद्धको जितमा ह्याट्रिक गरिन् । त्यसबाहेक पूर्वक्लब वालिङविरुद्ध दुई तथा बागमती, नेपाल पुलिस र कर्णाली प्रदेशलाई समान एक गोल गरेकी हुन् । यसअघि शारदानगरमा ७ खेल खेल्दा अमिषाले ४ गोल गरेकी थिइन् ।

विमला चौधरी : क्लब– आर्मी, गोल– ७
कम बोल्ने लजालु स्वभावकी विमला चौधरीले पनि आफूलाई शीर्ष १० गोल गर्ने खेलाडीभित्र समावेश गरेकी छिन् । उनले ९ खेल खेल्दा ७ गोल गरेकी हुन् । पाँच टिमविरुद्ध समान एक गोल गरेकी विमला उच्च गोल गर्ने खेलाडीको छैटौँ स्थानमा रहेकी छिन् । उनको सानदार प्रदर्शनले आर्मी लिगको पहिलो चरणमा दोस्रो स्थानमा रह्यो । कोशीविरुद्धको जितमा दुई गोल गरेकी विमलाले संकटा, एपिएफ, सुदूरपश्चिम, बागमती र कर्णालीविरुद्ध समान एक गोल गरेकी हुन् । 

चन्द्रा भण्डारी : क्लब– आर्मी, गोल– ८
यसपटक आर्मीको उच्च प्रदर्शनमा चन्द्राको प्रदर्शन सानदार रह्यो । धनगढीबाट नेपाली फुटबलमा उदाएकी चन्द्राले यसपटक आर्मीबाट लिगमा डेब्यु गर्दा आठ गोल गरिन् । चन्द्रले लिगभर दुई ह्याट्रिक पूरा गरिन् । चन्दपुरविरुद्ध दोस्रो ४० र ८४औँ मिनेटमा गोल गरेकी थिइन् । वालिङविरुद्ध ४३, ५४ र ७४औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरेकी हुन् । यसबाहेक कर्णाली र पूर्वक्लब सदूरपश्चिमविरुद्ध समान एक गोल गरिन् । ०७८ को लिगमा धनगढी उपमहानगरपालिकाबाट खेल्दा चन्द्राले सात खेलमा ८ गोल गर्दै राष्ट्रिय टिमको यात्रा तय गर्न सफल भएकी थिइन् । 

See More On

सुझावित समाचार