माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा पहिरो, नेपाली सेनाका दुई जवानसहित पाँच बेपत्ता

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण
माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा पहिरो, नेपाली सेनाका दुई जवानसहित पाँच बेपत्ता

फाइल तस्बिर ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थल संरचनाको लागि रहेको हेडवर्क्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँचजना बेपत्ता भएका छन्।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गाडी पहिरोमा परेर बेपत्ता भएका हुन्। शनिबार दिउँसो माथिको भीरबाट पहिरो खस्दा उनीहरू नियन्त्रण कक्षमा थिए। 

दोलखा प्रहरीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पहिरोले क्षतिगरेको र दुई सैनिकसहित पाँचजना सम्पर्कविहीन भएको जनाएको छ। 

माथिल्लो तामाकोशी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजनाका दुई कर्मचारी र ड्युटीमा खटिएका दुई सैनिक सम्पर्कविहीन भएको जानकारी दिए। उनले पहिरोले हेडवक्र्स क्षेत्रका संरचनाहरू क्षति गरेको र घटनास्थलसम्म सुरक्षाकर्मी पुग्नसमेत नसकेको बताए।

पहिरोले बाँधस्थलनजिकै नियन्त्रण कक्ष रहेको दुईतले घर पुरेको छ भने बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्रभर्ट) मा पनि ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुप्रिएको छ।

जलासयमा पानीको बहाव उच्च भएपछि माथिल्लो तामाकोशी आयोजनाको विद्युत उत्पादनसमेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएका छन्। 

यसैबीच, परियोजनाले नेपाली सेनालाई पत्रचार गर्दै उद्धारको लागि अनुरोध गरेको छ। हेलिकोप्टर या अन्य उपायबाट उद्धारका लागि परियोजनाले अनुरोध गरेको हो । परियोजनाले जारी गरेको पत्रमा उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको सम्पूर्ण खर्च परियोजनाले नै व्यहोर्ने पनि उल्लेख छ।  

सुझावित समाचार