नवलपुरको ठाउँठाउँमा डुबान, स्थानीय विस्थापित

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

हिजोदेखि अविरल रूपमा परेको पानीले नवलपुरको विभिन्न स्थान डुबानमा परेको छ। नवलपुरको गैँडाकोट- ७, गैरीस्थित सिकारी टोलमा नारायणी नदीको पानी पसेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीबाट पसेको पानीले गैँडाकोट- ७ गैरी सिकारी टोलमा १५ घर डुबानमा परेर उनीहरू विस्थापित भएका छन्। 

विस्थापित भएकाहरूलाई छिमेकीको घर गएर बसेको प्रहरीले जनाएको छ। कुनै मानवीय क्षति नभएको र चारवटा बंगुर बगाएर लगेको प्रहरीले जनाएको छ। त्यसैगरी, नवलपुरको गैँडाकोट- २ बोटेटोल र सुकुमवासी टोलमा आज बिहान ६ बजेदेखि नारायणी नदीमा आएको बाढी पसेको छ।  

यहाँ नारायणी नदीको पानी पसेर १० फिट जति पानी जमेको छ। बाढीले यहाँ एक सय ५० घर डुबानमा परेको स्थानीयले जनाएका छन्। यहाँ रहेकालाई प्रहरी, सशस्त्र प्रहरीले बिहानै उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ।

गैँडाकोट- ९ को थुम्सीआसपासको क्षेत्रमा ५० घर र गैँडाकोट- १० पितौजीमा ३० घर डुबानमा परेका छन्। त्यसैगरी, नवलपुरको मध्यविन्दु- २, सेहरीमा नारायणी नदीको पानी पसेको छ। मानव बस्तीमा  पानी पस्दा १९ घर डुबेका छन्। यहाँ ७० जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ सारिएको र उद्धार कार्य चलिरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ। 

त्यसैगरी, कावासोती- १५, बाघखोरमा रहेको अमलटारी होम स्टे भिलेज पूरै डुबानमा परेको छ।   ४० घर बढी डुबानमा परेका छन्। केरुंगे खोला र नारायणी नदीका पानी पसेपछि यहाँ डुबानमा परेको हो।

See More On

सुझावित समाचार