जोखिम टार्न कुलेखानी पूर्ण क्षमतामा चलाइयो, सिमखोलाको पानी पनि डाइभर्ट

ड्यामको ढोका खोल्नुपर्ने स्थिति छैन

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनाको इन्द्रसरोवर ड्यामको (बाँध) पानी बढ्न नदिन पूर्ण क्षमता (६० मेगावाट)मा विद्युत् उत्पादन थालिएको छ । ड्याममा मिसिने सिमखोलाको पानी पनि डाइभर्ट गरेर खोलामै बगाइएको छ । 

जलाशययुक्त रहेको यो आयोजना हिउँद र सुक्खायाममा मात्र सञ्चालन गरिने भए पनि पानीको बहाव थप बढ्न नदिन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो । यद्यपि, विद्युत्को माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यकताअनुसार आयोजना चलाइन्छ । यसअघि बिहीबारसम्म तीन दिन आयोजना पूर्ण रूपमा बन्द थियो । 

‘शुक्रबार हरेक तीन घण्टामा एक मिटरका दरले इन्द्रसरोवर भरिन थालेको थियो । अझै पानी पर्ने भनिएको छ । ओभरफ्लो हुने जोखिम बढेपछि आयोजना चलाएका हौँ,’ कुलेखानी जलविद्युत् १ का प्रमुख तारादत्त भट्टले भने । ड्यामको पानी ओभरफ्लो हुने जोखिम भएपछि सिमखोलाको पानी पनि डाइभर्ट गरिएको भट्टले बताए । यो खोलाको पानी सुरुङमार्फत ल्याएर ड्याममा जम्मा गरिन्छ । तर, सुरुङ बन्द गरेर खोलामै बगाइएको हो । ‘यसले ड्याममा आउने पानीमध्ये १०–१५ प्रतिशतसम्म कम गरेको छ,’ भट्टले भने, ‘सिमखोलाको पानी डाइभर्ट र आयोजना पूर्ण क्षमतामा चलाएर २५ प्रतिशतसम्म पानी व्यवस्थापन (कम) गरिएको छ ।’

ड्याममा बिहीबारसम्म प्रतिदिन तीन–चार सेन्टिमिटिरका दरमा मात्र पानीको सतह बढेको थियो । तर, झरीसँगै शुक्रबार बिहान प्रतिघण्टा पाँच सेन्टिमिटर दरमा पानीको सतह बढ्यो । शुक्रबार दिउँसो प्रतिघण्टा ३० सेन्टिमिटर दरमा पानीको सतह बढन थालेपछि ओभरफ्लोको त्रास बढेको हो । यद्यपि, शुक्रबार राति पानीको बहाव वृद्धिदर प्रतिघण्टा २० सेन्टिमिटरमा झरेको छ ।

कुलेखानीको ड्याम भरिन थालेपछि शुक्रबार इन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरण र कुलेखानी आयोजनाले नै सूचना जारी गरेर बागमतीसहित नदीकिनारका बस्तीका बासिन्दालाई सतर्क रहन आह्वान गरेका थिए । पानी ओभरफ्लो भएमा सिस्नेरी हुँदै बागमती नदीमा मिसिन्छ । ड्यामको पानी बाहिर आएमा इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ तथा कुलेखानी नदीआसपासको क्षेत्रमा जोखिम हुन्छ । यसले एक्कासि बाढी आउन सक्ने जोखिम रहन्छ । ०३८ देखि सञ्चालनमा रहेको कुलेखानीको ड्याम पछिल्लोपटक ०७८ र ०७९ मा भरिएको थियो । 

ड्यामको ढोका खोल्नुपर्ने स्थिति छैन
ड्यामले ६ करोड २३ लाख क्युबिक मिटर पानी सञ्चय गर्न सक्छ । तर, ड्यामको सतहमा बालुवासमेत भरिएकाले त्यति मात्रामा पानी सञ्चय हुँदैन । भट्टका अनुुसार शुक्रबार साँझसम्मकै अनुपातमा पानी थपिएमा ड्यामको ढोका खोल्नुपर्दैेन । ‘क्लाउडब्रस्ट नै भएमा ड्यामको ढोका खोल्नुपर्ने हुन सक्छ । तर, अहिलेकै अवस्थामा ड्यामको ढोका खोल्नुपर्छजस्तो लाग्दैन । ओभरफ्लोकै संरचनाबाट बढी भएको पानी पठाउन सकिन्छ,’ उनले भने ।

सुझावित समाचार