अखिल क्रान्तिकारीको नेतृत्वमा सहमतिको अनौपचारिक प्रयास

२४३ सदस्यीय केन्द्रीय समिति र ३३ सदस्यीय पदाधिकारी प्रस्ताव

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को तीन दिनदेखि जारी २३औँ सम्मेलनमा सर्वसम्मत नेतृत्व चयनका लागि अनौपचारिक प्रयास सुरु भएको छ। शुक्रबारबाट बन्दसत्र सुरु भएर विधानमाथि छलफल अगाडि बढेलगत्तै संगठनका पूर्वअध्यक्षहरूले पार्टी नेतृत्वसँगसमेत सम्पर्कमा रहेर पहिलो चरणमा अध्यक्षमा सहमति जुटाउने प्रयासस्वरूप अनौपचारिक छलफल सुरु गरेका हुन्।

पूर्वअध्यक्षहरू हिमाल शर्मा, लेखनाथ न्यौपाने, रमेश मल्ल, रञ्जित तामाङ र निवर्तमान अध्यक्ष पञ्चा सिंहले पार्टी नेतृत्वसँगको सम्पर्कमा पहिलो चरणमा सर्वसम्मत नेतृत्व चयनका लागि अनौपचारिक छलफल प्रारम्भ गरेका छन्। अध्यक्षका लागि वर्तमान उपाध्यक्ष र महासचिवसहित १८ जना दाबेदार छन्।

आकांक्षीसँग ठोस औपचारिक छलफल नगरे पनि मनस्थिति बुझ्ने र सर्वसम्मतिका लागि विकल्प के हुन सक्छ भन्ने विषयमा बन्दसत्र सुरु भएसँगै अनौपचारिक संवाद सुरु गरिएको छलफलमा सहभागी एक पूर्वअध्यक्षले बताए। बिहीबार उद्घाटन भएको सम्मेलनको कार्यतालिकाअनुसार आगामी सोमबार मतदानको कार्यतालिका छ। तर, सर्वसम्मतिको कोसिस गर्न ‘साइडलाइन छलफल’ सुरु भएकाले सम्मेलन एक–दुई दिन लम्बिने सम्भावना पनि छ। पहिलो चरणमा सहमतिको प्रयास भए पनि यसपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारी तहका नेताहरू सर्वसम्मति नभए आरोप–प्रत्यारोप नहुने गरी स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्ने पक्षमा छन्। विशेषतः अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासँग सहमतिका लागि प्रयास गरिरहेका क्रान्तिकारीका पूर्वअध्यक्षहरू सम्पर्कमा छन्।

‘साइडलाइनमा सहमतिका लागि प्रयास सुरु भएकाले तोकेको समयभन्दा केही दिन सम्मेलन लम्बिन पनि सक्छ,’ छलफलमा सहभागी एक पूर्वअध्यक्षले भने, ‘पहिलो चरणको प्रयासबाट सहमति नजुटे आरोप–प्रत्यारोप नहुने गरी यसपटक पार्टी नेतृत्व नै स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्ने पक्षमा हुनुहुन्छ।’

२४३ केन्द्रीय समिति र ३३ सदस्यीय पदाधिकारी प्रस्ताव
शुक्रबारबाट सुरु भएको बन्दसत्रमा महासचिव दीपेश पुनले संगठनको विधान छलफलका लागि प्रस्ताव गरेका छन्। उपाध्यक्ष तथा प्रवक्ता जिपी मैनालीले प्रतिनिधिहरूले अध्ययन गरेपछि आवश्यकताअनुसार छलफल गरेर शनिबारै विधान प्रतिवेदन पास गर्ने तयारी रहेको बताए। ‘प्रतिनिधिहरूले अध्ययन गरेपछि सुझाव दिनुहुन्छ, त्यसपछि आवश्यकताअनुसार छलफल गरेर शनिबार विधान पारित गरिनेछ,’ अध्यक्षका दाबेदारसमेत रहेका मैनालीले नयाँ पत्रिकासँग भने।

उनका अनुसार २४३ सदस्यीय केन्द्रीय कमिटी र अध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने गरी विधान छलफलका लागि प्रस्ताव गरिएको छ। जसअनुसार केन्द्रीय समितिको ढाँचा एक अध्यक्ष, नाै उपाध्यक्ष, एक महासचिव, १२ सचिव, एक कोषाध्यक्षसहित ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय र  १६२ केन्द्रीय सदस्य रहने प्रस्ताव छ। विधानमै क्रान्तिकारीले प्रमुख सचिव र सहसचिवसमेत चुनिने प्रबन्धसमेत प्रस्ताव गरेको छ। केन्द्रमा २७ वटा केन्द्रीय विभाग रहनेछन्।

एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा भने केन्द्रीय समिति थपघट हुन सक्ने विधानमा प्रस्ताव गरिएको छ भने आवश्यकताअनुसार केन्द्रीय समितिले केन्द्रीय कार्यालय बनाउन सक्ने प्रस्तावसमेत राखिएको छ। सम्मेलनमा दुई हजार २२३ प्रतिनिधि छन्। सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले बिहीबार गरेका थिए।

को–को छन् अध्यक्षका आकांक्षी ?
उपाध्यक्षहरू इन्द्र भुसाल, जिपी मैनाली, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरजंग शाही, केशव रावल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रवीणा अधिकारी, मदन भुल र महासचिव दीपेश पुन अध्यक्षका आकांक्षी छन्। पार्टी नेताहरूले भने आधिकारिक रूपमा अहिलेसम्म कसैलाई समर्थन गरेका छैनन्। चुनाव हुने परिस्थितिमा भने नेताहरूको रुचिका आधारमा कम्तीमा दुईदेखि पाँचजनासम्म अध्यक्षको उम्मेदवार बन्न सक्ने स्रोतले जनाएको छ।

सुझावित समाचार