छोटी भन्सार कार्यालय स्थापनाको माग गर्दै मन्त्रालयलाई ज्ञापनपत्र

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

बर्दियाको छोटी भन्सार कार्यालय पुनः स्थापनाको माग गर्दै उद्योग वाणिज्य संघ बर्दिया गुलरियाले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। बर्दिया जिल्लाको सीमावर्ती क्षेत्रबाट अवैध निकासी पैठारी रोकी राजस्व छली रोक्नका लागि छोटी भन्सार कार्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको हो।

द्वन्द्वकालभन्दा अगाडि सञ्चालनमा रहेका छोटी भन्सार कार्यालय विस्थापित हुँदा तस्करी र अवैध निकासी पैठारी तीव्र रूपमा भइरहेको ज्ञापनपत्रमा उल्लेख छ। अवैध निकासी पैठारीले गर्दा अत्यधिक राजस्व छली भएको र इमानदार व्यवसायी मर्कामा परेको उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए।

किनमेलका लागि सीमापारि जानाले गुलरियालगायतका बजारहरू ठप्प भएको र बर्दियावासी सीमापारिका बजारमा ठगिने गरेको उनको भनाइ छ। सीमावर्ती भारतीय बजारमा नेपालीको घुइँचो लाग्ने गरेकोमा नेपालका बजार भने सुनसान हुने गरेको बताउँदै बर्दियाका छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालनमा आएमा अवैध रूपमा हुने आयात पनि घट्ने र नेपाली बजारको व्यापार पनि बढ्ने अध्यक्ष पाण्डेले बताए। बर्दियामा फुटाहा, गणेशपुर, कालाबन्जर, छेदापुर, ताराताल, धनौरालगायतका भन्सार कार्यालय विस्थापित छन्।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग वाणिज्य संघ बर्दियाले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको छ। बर्दियाको गुलरियामा यातायात कार्यालयको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको हो।

बर्दियामा यातायात कार्यालय नहुँदा सर्वसाधारणहरू मर्कामा परेका छन्। बर्दियावासी सवारीसाधन नवीकरण, सवारीचालक अनुमतिपत्र नवीकरणलगायतका काम गर्न बाँकेको नेपालगन्ज जानुपर्ने बाध्यता छ। लुम्बिनी प्रदेशका कतिपय जिल्लामा दुईवटासम्म यातायात कार्यालय भए पनि बर्दियामा एउटा पनि नहुनु दुःखद रहेको अध्यक्ष पाण्डेले बताए। 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्योग वाणिज्य संघ बर्दिया गुलरियाले उठाएको माग जायज भएको उल्लेख गर्दै सम्बन्धित ठाउँसम्म पुर्याउने बताइन्।

सुझावित समाचार