मौलिक संस्कृति संरक्षण गर्न विद्यालयमै संग्रहालय

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

व्यावहारिक शिक्षा प्रदान गर्न सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ मा रहेको कालिका आधारभूत विद्यालयले संग्रहालय (स्कुल म्युजियम) स्थापना गरिएको छ । मौलिक र परम्परागत सामग्री लोप हुँदै गएकाले लोपोन्मुख सामग्रीहरू संकलन गरेर विद्यालयले आफ्नो क्षेत्रको लोपोन्मुख सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण गर्न महत्त्वपूर्ण कदम उठाएको हो ।

विद्यार्थीलाई तथा समुदायका अन्यलाई समेत आफ्नो समुदायको इतिहास, संस्कृति, र परम्पराको ज्ञान दिनका लागि संग्रहालय बनाइएको विद्यालयका प्रधानाध्यापक बालाराम वलीले बताए । ‘गाउँमा बिस्तारै हराउँदै गइरहेका परम्परागत सामग्रीहरूलाई संरक्षण गरी आगामी पुस्तालाई तिनको महत्त्वबारे जानकारी दिनका लागि हामीले यस्तो प्रयास गरेका हौँ,’ उनले भने ।

म्युजियममा गाउँघरमा अघिल्लो पुस्ताले प्रयोग गरेका ठेटुवा बुन्ने तान, हाटबजार गर्ने भारे डोका, तुलो, भाङ्ग्रो, कोल, लिच्छविकालीन लिपी, ढिकी, जाँतो, ठेगी, काठको जुत्ता (खराउ), घोडाको कैजा, छड्के झुलो, सुर्केथैली, बास्सा (पर्सको रूपमा प्रयोग हुने), दाह्री तथा कपाल काट्ने छुरा, लालटिन, स्याउँ, राउटेको कोशी, बिस्कुन सुकाउन प्रयोग गरिने भार, चोयाको भकारी राखिएको छ । यस्तै, माटो र गोबरबाट तयार गरिएको डरो (भकारी), भान्सामा प्रयोग गरिने पुराना सामग्री, महिला तथा पुरुषका पुराना वेशभूषा, चौरासी प्रकारका जडीबुटी, गेडागुडबाट बनाइएको कोलाज, रैथाने जातका एकदलीय र दुईदलीय बिरुवाको बिउ संकलन, इशानी चराहरूको गुँड पनि म्युजियममा राखिएको प्रअ वलीको भनाइ छ । 

संग्रहालयको स्थापनाले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विद्यार्थीले कक्षाकोठाको पाठ्यपुस्तकबाहिरको ज्ञान प्रत्यक्ष रूपमा सिक्ने अवसर पाएका छन् भने उनीहरूलाई आफ्ना पुराना परम्पराहरूको महत्त्व बुझ्न मद्दत पुगेको छ । यसले गर्दा विद्यार्थीमा गर्व र पहिचानको भावना बढाउने विश्वास गरिएको छ।

पाठ्यक्रमअनुसार सामाजिक विषयमा विगतबारे जान्न र बुझ्न विद्यार्थीलाई सजिलो भएको विद्यालयका प्रअ वलीले बताए। उनले भने, ‘विषयवस्तुको सान्दर्भिकता मिलाएर संग्रहालयमा विद्यार्थी भाइबहिनीहरू सहभागी हुन्छन् । संग्रहालयमा राखिएको लिपिको कारण कक्षा ४ र ५ का विद्यार्थीले लिच्छविकालीन लिपिमा आफ्नो नाम लेख्न सक्ने भएका छन् ।’

वि.सं. २०७५ सालदेखि म्युजियम निर्माणको काम कालिका आधारभूत विद्यालयले सुरुवात गरेको थियो। कालिका आधारभूत विद्यालयको यो प्रयासले स्थानीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्न मद्दत पुर्‍याएको र समुदाय तथा विद्यालयबिचको सम्बन्धलाई पनि बलियो बनाएको छत्रेश्वरी गाउँपालिका– ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए। उनले भने, ‘यो संग्रहालयले भावी पुस्तालाई आफ्नो इतिहास र परम्परासँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेलेको छ । शिक्षालाई जीवन्त र समृद्ध बनाउनका लागि अरू विद्यालयहरूले पनि यस्ता प्रयासहरू अगाडि बढाउन आवश्यक छ ।’

कालिका आधारभूत विद्यालयले भविष्यमा संग्रहालयलाई अझ विस्तार गर्ने योजना बनाएको छ । यसका लागि स्थानीय तथा बाह्य स्रोतको व्यवस्थापन गर्दै अन्य लोपोन्मुख सामग्रीहरू संकलन गर्ने र संग्रहालयलाई शैक्षिक पर्यटनको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विद्यालयको निर्णयअनुसार म्युजियम अवलोकनका लागि व्यक्तिगत रूपमा ५० रुपैयाँ र संस्थागत रूपमा एक हजार ५० रुपैयाँ शुल्क लिने गरिएको छ । 
 

सुझावित समाचार