श्रीलंकाको चुनाव परिणामको सन्देश के हो ?
श्रीलंकाले ७६ बर्षका रैथाने २ ठुला पार्टीलाई हटाएर नयाँ अनुहार सत्तामा ल्याएको छ । संसद्को पछिल्लो चुनावमा ३ प्रतिशत मात्रै मत पाएको सानो दलका नेता कार्यकारी राष्ट्रपति निर्वाचित भएका छन् । निर्वाचित शासकलाई असंगठित निःशस्त्र जनताको सडक क्रान्तिबाट हटाएको श्रीलंकामा सत्ता र राजनीतिको शुद्धीकरण प्रकृया सुरु भएको छ । भ्रष्ट र अहंकारी नेतृत्वबाट निराश जनताले हतास भएर लिएको निर्णयले परम्परागत अक्कललाई छक्क पारेको छ । जनता क्रोधित भएपछि कार्यकर्ताको संख्या र संगठनको आकार जति बढाए पनि र राजकीय पदमा आफ्नै मान्छे भरे पनि नेतृत्वको चारित्रिक स्खलन तथा भुइँमान्छेबाट टाढिएको राजनीति अप्रासंगिक हुन्छ । निचोड के हो भने श्रीलंकाली ‘जेन जी’ पुस्ताले सडकबाट गरेको परिवर्तन रैथाने पार्टी र पालैपालो शासन गर्ने नेतृत्वविरुद्ध थियो भन्ने इतिहासले टिपेको छ ।
दक्षिण एसियाको अवस्था के छ ?
पुनर्सन्तुलन र बहुध्रुुवीयता अन्तर्राष्ट्रिय राजनीतिको निर्देशक पक्ष बनेको छ । एसिया बहुध्रुवीयता र दक्षिण एसिया विस्तारित छरछिमेकका आधारमा क्षेत्रीयकृत हुने बाटामा छन् । दक्षिण एसियालाई दक्षिणपूर्वी एसियासँग जोड्ने म्यानमार विश्व शक्तिसंघर्षको उत्केन्द्र बनेको छ । श्रीलंका, बंगलादेश र माल्दिभ्सको आन्तरिक राजनीतिक कम्पनमा भारत, चीन र अमेरिका जोडिएका छन् । दक्षिण एसियाबाट समझदारी र सहयोगको ऋतु टाढिएको छ । शक्तिराष्ट्रबीच सामरिक पुनर्समायोजन प्रक्रियाको दबाबले दक्षिण एसियाको राजनीति, भूगोल र शक्ति सन्तुलनको ढाँचा अभैm अस्थिर हुनसक्छ । यसलाई कुशलतापूर्वक सम्बोधन गर्न नसके नेपालको राजनीतिक, आर्थिक र सामाजिक स्थायित्वको क्यानभासमा विकृत रंगहरू पोतरिने खतरा छ ।
नेपालको एजेन्डा के हुनुपर्छ ?
इतिहासमा पहिलोपटक नेपाल धारिलो र फराकिलो भूराजनीतिक तानातानमा परेको छ । दुवै छिमेकीसँगको मनोमालिन्य, अविश्वास र गुनासोको बोझा बिसाउने राजनीतिक क्षमता र कूटनीतिक सिप देखाउन धेरै ढिलो भैसकेको छ । यसलाई विवेक र परिपक्व ढंगमा सम्बोधन गर्ने एजेन्डालाई नेपालले प्राथमिकता दिनुपर्छ ।