क्यानडामा बस्दै आएका एक युवकलाई नेपाल बोलाएर दुई दिन थुनामा राखी प्रहरीकै मिलेमतोमा ५० लाख असुल गरेको घटनामा संलग्न दुई प्रहरीविरुद्ध फौजदारी मुद्दा अघि बढेको छ ।
घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईंलाई थुनामा राखी अनुसन्धान गर्न बिहीबार अदालतबाट म्याद थप भएको छ । प्रहरीको आन्तरिक छानबिनमा उनीहरूको मिलेमतो देखिएपछि फौजदारी मुद्दा अघि बढेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्वमा भएको छानबिनले सिफारिस गरेअनुसार उनीहरूविरुद्ध मुद्दा चलाउन लागिएको हो । ‘उक्त घटनामा दुई प्रहरीविरुद्ध अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले भने, ‘आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढेको छ ।’
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंकामा हवल्दार खड्काको टोलीले गत १४ भदौमा आशिष आचार्यलाई पक्राउ गरेको थियो । पछि क्यानडामा क्रिप्टो कारोबार गरेको र नेपालको कानुन आकर्षित नहुने भनेर दुई दिनपछि छाडियो ।
उनलाई प्रहरीले छाडे पनि बिचौलियामार्फत परिवारसँग बार्गेनिङ गरेर ५० लाख रुपैयाँ असुलिएको थियो । आशिषकै साथी तेजबहादुर तामाङको योजनामा यसरी पक्राउ गरी छाडिएको थियो । तेजबहादुरले पछि प्रहरीमा सेटिङ मिलाइदिने भन्दै ५० लाख लिएका थिए ।