राष्ट्रिय महिला लिग : यस्ता छन् दोस्रो चरण खेल्ने पाँच टोली

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो चरण खेल्ने पाँच टोलीको टुंगो लागेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा विजयी हुँदै वालिङ नगरपालिका र कोशी प्रदेशले शीर्ष पाँचभित्र आफ्नो स्थान सुरक्षित गरेका हुन् । यसअघि विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसले तीन खेलअघि नै दोस्रो चरणको स्थान पक्का गरेका थिए । 

महिला लिगको पहिलो चरणमा ४५ मध्ये ४२ खेल पूरा भएको छ । सहभागी १० टोलीमध्ये शीर्ष पाँच टोली दोस्रो चरणमा पुगेका हुन् । लिगभरि नै कमजोर प्रदर्शन गरेको सुदूरपश्चिमसँगै कर्णाली प्रदेश, चन्द्रपुर नगरपालिका, संकटा क्लब र बागमती युवा क्लब पहिलो चरणबाटै बाहिरिएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग संकटा र ‘बी’ डिभिजन लिगमा आबद्ध बागमतीले महिला लिगमा यसै सिजनबाट डेब्यु गरेका थिए । सुर्खेतमा भएको महिला लिग छनोटमा च्याम्पियन बनेको सुदूरपश्चिमले ९ खेलमा ६९ गोल व्यहोरेको छ । खेलाडी छनोटदेखि प्रशिक्षक नियुक्तिसम्मको विवादले खेलमा असर परेको थियो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रो चरण दसैँपछि गर्ने जनाएको छ । दोस्रो चरणमा पहिलो चरणमा पाएको अंक गणना हुनेछैन । पहिलो चरणमा शीर्ष पाँच स्थानमा रहेका क्लब यस्ता छन्:

एपिएफ क्लब (अंक २२)
साबिक विजेता एपिएफले उपाधि रक्षा गर्ने अभियानलाई यसपटक पनि निरन्तरता दिएको छ । एपिएफले लिगमा एक खेल खेल्न बाँकी छ । अपराजित रही एपिएफले सर्वाधिक २२ अंक जोड्यो । एपिएफले विपक्षी पोस्टमा ४६ गोल गर्दा दुई गोल व्यहोरेको छ । मुख्य खेलाडीद्वय सावित्रा भण्डारी र गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा नरहँदा पनि एपिएफ उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । सावित्राले फ्रान्सको क्लबबाट व्यावसायिक लिग खेलिरहेकी छिन् । 

राष्ट्रिय महिला टोलीकी गोलरक्षक तथा कप्तानसमेत रहेकी अञ्जिला ग्रिसको क्लबमा खेल्ने तयारीमा छिन् । राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मिकुमारी घिसिङले पहिलो चरणमा सर्वाधिक १३ गोल गरेकी थिइन् । उनी उच्च गोलकर्ता लिस्टको शीर्ष स्थानमा छिन् । एपिएफले पुलिससँग बराबरी खेलेको थियो भने सुदूरपश्चिमविरुद्ध १९–० को जित निकालेको थियो ।

त्रिभुवन आर्मी (अंक १९)

लिगमा आर्मीले पहिलो चरणको सुरुमै विभागीय टोली एपिएफविरुद्ध हारको सामना गर्यो । कमजोर सुरुवात गरेको आर्मीले त्यसपछि लय समात्दै दोस्रो स्थान रक्षा गरेको हो । बिस्तारै खेलमा सुधार गरेको आर्मीका खेलाडीको प्रदर्शनमा उतारचढाव रह्यो ।

अनुभवी खेलाडी भए पनि आर्मीले सुरुवाती चरणमा सोचेजस्तो नतिजा निकाल्न सकेन । लिगमा आठ खेलबाट आर्मीले १९ अंक जोडेको छ । आर्मीले विपक्षी पोस्टमा ४६ गोल गर्दा चार गोल व्यहोरेको छ । दीपा शाही, विमला चौधरी, अमिषा कार्की, अनिता लम्जेलजस्ता खेलाडीले पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । चन्द्रा भण्डारीले पहिलोपटक आर्मीबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरिन् । एपिएफसँग २–१ ले पराजित भएको आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध १४–१ को ठूलो जित निकाल्यो । 

नेपाल पुलिस (अंक १८)
भोला सिलवालको प्रशिक्षणमा रहेको पुलिसले एक खेल बाँकी रहँदा तेस्रो स्थानमा रक्षा गरेको हो । पुलिसले आठमध्ये पाँच खेलमा जित र तीन खेलमा बराबरी नतिजा निकालेको छ । १८ अंक जोडेको पुलिसको प्रदर्शनमा भने उत्तरचढाव देखियो । एपिएफ र चन्द्रपुरविरुद्ध गोलरहित बराबरी खेलेको पुलिसले आर्मीलाई १–१ को बराबरीमा रोकेको थियो ।

पुलिसले लिगमा ठूलो जितअन्तर निकालेको सुदूरपश्चिमविरुद्ध ९–० गोल थियो । भरपर्दाे खेलाडी रेखा पौडेल युएई टोलीमा अनुबन्ध हुँदा पुलिसको फिनिसिङमा कमजोर देखियो । कप्तान निरु थापासँगै दीपा न्यौपाने, निर्मला उपाध्यायले स्वाभाविक प्रदर्शन गर्न सकेनन् । सम्झना लावती र अनुष्का शेर्पाले केही आशा देखाए । सर्वाधिक गोलकर्ताको शीर्ष १० सूचीमा पुलिसका एक खेलाडी पर्छन् । यसपटक लिगको पलिो चरणमा पुलिसको फिनिसिङमा समस्या देखिएको छ । गोलरक्षक उषा नाथ, रक्षक समीक्षा घिमिरे, अमृता जैसी, पूजा राना, रेविका पाण्डे, मिडफिल्डर मनीषा राउतको प्रदर्शन औसत रह्यो । 

वालिङ नगरपालिका (अंक १५)
दुई वर्षपछि सम्भव भएको महिला लिगमा मोफसलको क्लब वालिङले राम्रा विदेशी खेलाडी अनुबन्ध गर्यो । चारजना विदेशी खेलाडीको बलमा वालिङले लिगको दोस्रो चरणको स्थान पक्का गरेको हो । टोलीले नौमध्ये पाँच खेल जित्यो । चार खेलमा पराजित वालिङले १५ अंक जोडेको छ । ज्याकलिन नासाली आठ गोलका साथ सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छिन् । पहिलो खेलमा कोशीसँग पराजित वालिङले दोस्रो खेलदेखि ज्याकलिनलाई मैदानमा उतारेको थियो । कर्णालीविरुद्ध पहिलो खेलमा उनले ह्याट्रिक गरेकी थिइन् । युगान्डाकी खेलाडी ज्याकलिनसँगै वालिङले फातुमा नाकासुम्बा, किसी नान्तोन्गो, भिओला नामुदुलाई नियमित रूपमा लिगमा प्रतिस्पर्धा गराएको थियो । 

कोशी प्रदेश (अंक १४)
सुर्खेतमा आयोजना भएको छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश महिला लिगमा स्थान बनाउन सफल भयो । महिला लिगका तीन खेलमा वालिङ, बागमती, कर्णालीलाई हराउँदै कोशीले सनसनी मच्चाएको थियो । कोशी चौथो खेलमा पुलिससँग ४–० ले पराजित भयो । यसपछि टोलीको प्रदर्शन बिस्तारै खराब हुँदै गयो । अन्तिम खेलमा कमजोर सुदूरपश्चिमलाई हराउँदै कोशीले दोस्रो चरणमा स्थान पक्का गरेको हो । कोशीले नौमध्ये चार खेल जित्दा, दुई बराबर र तीन खेलमा हारको सामना गर्यो । टोलीले सुरुदेखि नै भारतीय गोलरक्षक बुली सरकार, सुनिता सरकार र तमालिका सरकारलाई टोलीमा समावेश गरेको थियो । कोशीमा नेपालको उमेर समूहबाट खेलेका जेनिफर रानासहित पूर्णिमा राई, खुस्मा राई, ममता राउत र प्रतीक्षा राई छन् ।
 

सुझावित समाचार