नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को अध्यक्षमा सुनील केसी निर्वाचित भएका छन्। निक्कीको बुधबार सम्पन्न ३०औँ वार्षिक साधारणसभाले ३२ वर्षीय केसीलाई अध्यक्ष निर्वाचित गरेको हो। निक्की ३० वर्षअघि उद्यमी प्रभाकरशमशेर राणाको नेतृत्वमा स्थापना भएको थियो।
अध्यक्ष केसी नेपालमा विदेश सम्बन्धबारे अनुसन्धान गर्दै आएको चिन्तन संस्थान एआइडिआइए (एसियन इन्स्टिच्युट अफ डेभलपमेन्ट एन्ड इन्टरनेसनल अफेयर्स)का संस्थापक हुन्। उनी दोलखास्थित सिंगटी हाइड्रो इनर्जी लिमिटेडका निर्देशक हुन्।
साधारणसभाले निक्कीको कार्यसमिति सदस्यमा बटु लामिछाने, कुणाल कायल, अनिलकुमार शाह, करण चौधरी, शशिकान्त अग्रवाल, सिद्धार्थ मजुम्दार, रविकुमार रायवरम, किरण मल्ल र रमेश शर्मालाई निर्वाचित गरेको छ। संघको विधानअनुसार अध्यक्ष केसीले बुधबारै राजन शर्मा, उत्तम लामा र अरुण केसीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।
दाङबाट रेडियो पत्रकारिता सुरु गरेका उनी चिन्तन संस्थाको संस्थापक हुँदै नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका सल्लाहकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका थिंक ट्यांक सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य भइसकेका छन्। सन् २०१९ मा कोरोनाको समयमा नेपालको औपचारिक भ्रमणमा आएका तत्कालीन भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले एआइडिआइएको आयोजनामा नेपाल-भारत सम्बन्धबारे प्रवचन दिएका थिए।
नवनिर्वाचित अध्यक्ष केसीले नेपाल–भारत इनोभेसन तथा इन्टरप्रेन्योरसिप सेन्टर स्थापना गर्ने र नयाँदिल्लीमा निक्कीको शाखा कार्यालय स्थापना गर्ने बताए। उनले आफ्नो कार्यकालमा निक्कीले व्यापारसँग सम्बन्धित नेपाल र भारतका समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिक्रिया दिए। ‘नेपालको ऊर्जा, पर्यटन, सीमापार डिजिटल भुक्तानी, उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न अध्यक्षका रूपमा मेरो भूमिका रहनेछ। हरेक दुई वर्षमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने छौँ,’ केसीले भने।
बुधबार नेतृत्व हस्तान्तरण समारोहमा ऊर्जामन्त्री दीपक खड्का, भारतीय राजदूत नवीन श्रीबास्तव, पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरी, पूर्वऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भारतका लागि नेपाली राजदूत (प्रस्तावित) डा. शंकरप्रसाद शर्मालगायत सहभागी थिए।