एकदिवसीय क्रिकेटको विश्वविजेता अस्ट्रेलियाको विजय यात्रामा विराम

डिएलएस नियमअनुसार इंग्ल्यान्ड ४६ रनले विजयी

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

इंग्ल्यान्डले एकदिवसीय क्रिकेटको विश्वविजेता अस्ट्रेलियाको लगातारको १४ खेलको अपराजित यात्रालाई पूर्णविराम लगाएको छ। 

इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलिया पाँच एकदिवसीय खेलको शृंखलाको तेस्रो खेलमा ४६ रनले पराजित भएको हो । रिभरसाइड खेलमैदानमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै अस्ट्रेलियाले ५० ओभरमा ३०४ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि एलेक्स केरीले ६५ बलमा सर्वाधिक ७७ रन बनाए। उनी अविजित भए। स्टिभ स्मिथले ८२ बलमा ६०, आरोन हार्डीले २६ बलमा ४४, क्यामरुन ग्रिनले ४९ बलमा ४२, ग्लेन म्याक्सवेलले २५ बलमा ३० रन बनाएपछि अस्ट्रेलियाले ३०४ रनको योगफल बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले ३५.४ ओभरमा चार विकेटको क्षतिमा २५४ रन बनाउँदा वर्षा सुरु भएको थियो। लगातार पानी परेपछि बाँकी खेल हुन सकेन र इंग्ल्यान्ड डकवर्थ लेविस नियमअन्तर्गत विजयी भयो।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले ९४ बलमा ११० रनको महत्त्वपूर्ण इनिङ्स खेले। उनले विल ज्याक्ससँग मिलेर १५६ रनको साझेदारी गरेपछि इंग्ल्यान्ड खेलमा मजबुद अवस्थामा पुगेको थियो। ज्याक्सले ८२ बलमा ८४ रन बनाए। जितपछि इंग्ल्यान्डले शृंखला २–१ को अवस्थामा ल्याएको छ। शृंखलाको चौथो खेल शुक्रबार हुनेछ।

सुझावित समाचार