एकीकृत सरकारी कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गराउन अनशन गर्ने

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

एकीकृत सरकारी कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गराउन माग गर्दै रिले अनशन बस्ने घोषणा गरेको छ। 

संघीयता कार्यान्वयनको नाै वर्ष पुगिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन नसकेको र यसले प्रशासनिक संघीयता संक्रमणकालमा गुज्रिरहेको भन्दै सरकारलाई दबाब दिन दसैँ–तिहारलगायत पर्वहरू सकिएपछि अनशन बस्ने भएको हो।

संगठनको केन्द्रीय कार्यसमितिको चौथो बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै दसैँ–तिहारपछि रिले अनश गर्ने निर्णय गरिएको महासचिव प्रकाश राईले बताए। ऐन प्राप्त नभएसम्म रिले अनशन निरन्तर गर्ने र आवश्यकताअनुसार अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने निर्णय संगठनले गरेको राईले जानकारी दिए।  

‘ऐन आइहाल्छ भन्ने कुरा अब ढाँटको निम्तो खाएर मात्रै पत्याउनुको हालतमा पुगिएको छ। सार्वजनिक प्रशासनको क्षेत्रमा अराजकता, अन्याेल र निराशा व्याप्त छ। नागरिक र कर्मचारीमैत्री ऐन जारी गराउन सार्वजनिक सेवा प्रवाहमा कुनै पनि असर नपर्ने गरी दसैँ–तिहारलगायत पर्वहरू सकिएपछि प्रत्येक हप्ताको शनिबार रिले अनशन गर्ने निर्णय भएको छ,’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संगठनको बैठक भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा यही असोज २ र ३ गते दुई दिन बसेको थियो। संगठनका अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बैठकले ५१ बुँदे विशेष प्रस्तावहरूसमेत पारित गरेको छ।

सरुवा प्रणालीलाई वैज्ञानिक, स्वचालित र पूर्णअनुमानयोग्य बनाउन संगठनले वैचारिक विमर्शलगायतको काम गरिरहेको उल्लेख गरिएको छ। सरुवा प्रणालीलाई दीर्घकालीन रूपमा स्वचालित बनाउन पहल गर्ने उल्लेख गरिएको छ। त्यस्तै, हाल बहालमा रहेका सबै कर्मचारीलाई पुनः पदस्थापन गर्ने व्यवस्था गर्न संगठनले माग गरेको छ।

सरुवाको सवालमा स्पष्ट मापदण्ड बनाएर पारदर्शी र भेदभावरहित हुने ग्यारेन्टी गर्न संगठनको माग छ। त्यस्तै, निजामती अस्पतालको सेवा स्थानीय र प्रदेश सरकारका कर्मचारीहरूले पनि पाउने व्यवस्था हुने गरी सबै प्रदेशका सरकारी अस्पतालमा सेवा विस्तार गर्न पनि माग गरिएको छ। 

संगठनले करार कर्मचारीलाई समेत सुविधा विस्तारका लागि माग गरेको छ। उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने, महँगी भत्तालगायत सुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

सुझावित समाचार