पर्यटकीय स्थललाई खेलसँग जोड्न पर्वतीय दौड

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

तीन धार्मिक पर्यटकीय स्थललाई खेल पर्यटनका माध्यमबाट जोड्ने उद्देश्यसँगै २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसको अवसर पारेर पोखरामा ‘प्रथम पर्वतीय दौड प्रतियोगिता– २०८१’ हुने भएको छ ।

पोखरा महानगरपालिका– २२ स्थित पुम्दी–भुम्दीमा रहेको विश्वशान्ति स्तुप, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति एवं निगालेडाँडास्थित बुद्धपार्कलाई खेल पर्यटनका माध्यमबाट जोड्ने उद्देश्यसहित पोखरा क्लिक प्रालिले १२ असोजमा दौड आयोजना गर्न लागेको हो । विश्वशान्ति स्तुपबाट सुरु हुने दौड पुम्दीकोटको महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर समापन हुनेछ । 

प्रालिका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले तीन गन्तव्यलाई खेल पर्यटनमार्फत प्रवर्द्धनका साथै सँगै जोड्ने मूल उद्देश्यसहित आयोजना गर्न लागिएको दौडको दूरी आठ किलोमिटर रहने बताए । दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको दाबी छ ।

आयोजना गरिएको दौडअन्तर्गत खुलातर्फका विजेतालाई २५, दोस्रोलाई १५ र तेस्रोलाई सात हजार नगद साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । सहभागीमध्ये महिला, १६ वर्षमुनिका बालबालिका र पोखरा २२ का स्थानीयमध्ये उत्कृष्ट एक–एकजनालाई नगद सात हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । 
 

सुझावित समाचार