नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको विकास गर्न सकिने बताएका छन् । त्यसका लागि पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता रहेको पनि उनले बताएका हुन् ।
सोमबार बैंककमा आयोजित ३७औँ एसियन ट्रेड प्रमोसन फोरममा अध्यक्ष ढकालले विदेशी लगानीकर्तालाई होटेल, थिमपार्क र साहसिक पर्यटन गन्तव्यजस्ता क्षेत्रमा सम्भावना रहेको जानकारी गराएका हुन् । उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए ।
ढकालले नेपालको जलविद्युत् क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरे । भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा पनि निर्यात गर्ने तयारी भइरहेको उनले बताए । यसले नेपालको विद्युत्का लागि बजारको सुनिश्चितता भएको उनको भनाइ छ । ढकालले नेपालले विदेशी लगानीकर्ताका लागि प्रदान गर्ने रणनीतिक फाइदालाई पनि औँल्याए ।