इजरायली हमलामा लेबनानमा कम्तीमा २७४ को मृत्यु

आक्रमणमा मृत्यु हुनेमध्ये २१ बालबालिका, ३९ महिला र दुई स्वास्थ्यकर्मी, हजारभन्दा बढी घाइते

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण
इजरायली हमलामा लेबनानमा कम्तीमा २७४ को मृत्यु

इजरायल–लेबनान सीमानजिकको बस्ती अराम्तीमा इजरायलले  हवाई आक्रमण गरेको स्थलबाट आइरहेको धुवाँ

- लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका तीन सय अखडालाई लक्षित गरी आक्रमण गरेको इजरायली सेनाको दाबी
- आक्रमणको जवाफमा दुई इजरायली आधारहरूमा ‘दर्जनौँ रकेट’ प्रहार गरेको हिजबुल्लाहको दाबी
- इजरायलले फराकिलो द्वन्द्व सिर्जना गर्न खोजेको इरानका राष्ट्रपति मसुदको आरोप

इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई हमलामा कम्तीमा २७४ जना मारिएका छन् । आक्रमणमा एक हजार २४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिएका र घाइते हुनेमा बालबालिका, महिला र स्वास्थ्यकर्मी पनि छन् । 

स्वास्थ्यमन्त्री फिरास अबियादले इजरायली बमबारीले भाग्न खोज्नेहरूका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरूलाई निसाना बनाएको बताए । आक्रमणमा २१ बालबालिका, ३९ महिला र दुई स्वास्थ्यकर्मीसहित कम्तीमा २७४ जनाको मृत्यु भएको उनले बताए । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

अलजजिराका अनुसार इजरायली आक्रमणपछि लेबनानी सिभिल डिफेन्सले ‘दक्षिणी क्षेत्र नाबातिह र बेकामा धेरै घर, कारखाना र गोदाममा’ फैलिएको आगो निभाउन काम गरिरहेको जनाएको छ । विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् । 

३ सय स्थानलाई लक्षित गरी हमला
इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर, आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने उल्लेख गरेको छैन ।

दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको छ । इजरायली सेना आइडिएफका प्रवक्ता डानियल हगारीले बताएका छन् । सेनाले कब्जा गरेको उत्तरी वेस्ट बैंकमा चेतावनी साइरन बजाएको जनाएको छ । 

उद्धारकर्ताले आक्रमणमा मारिएका व्यक्तिको शव निकाल्नुका साथै घाइतेलाई  आवश्यक उपचारका लागि अस्पताल पठाएको सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि हराइरहेका भनिएका ५४ व्यक्तिको शव फेला पारेको सो संगठनले जनाएको छ । 

हिजबुल्लाहको जवाफी हमला
इजरायलले गरेको आक्रमणको बदलास्वरूप दुई इजरायली अड्डालाई निशाना बनाएको बताएको छ । हिजबुल्लाहले लेबनानको दक्षिण र पूर्वमा आक्रमण केन्द्रित गरेको छ । समूहले दक्षिण र बेकामा इजरायली शत्रुको आक्रमणको जवाफमा दुई इजरायली आधारमा ‘दर्जनौँ रकेट’ प्रक्षेपण गरेको दाबी गरेको छ । 

इरानको विरोध
इरानका राष्ट्रपति मसुद पेजेस्कियानलले इजरायलले फराकिलो द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाउँदै आफ्नो देश अस्थिरताको विपक्षमा रहेको बताएका छन् । युद्धले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ । ‘हामीलाई थाहा छ कि यदि मध्यपूर्वमा ठुलो युद्ध सुरु भयो भने यसले विश्वभरि कसैलाई फाइदा गर्दैन,’ उनले भनेका छन् । 
 

See More On

सुझावित समाचार