बाराही हस्पिटालिटीअन्तर्गतका विभिन्न चार होटेलले साउथ एसियन ट्राभल अवार्डस् (साटा) प्राप्त गरेका छन्। गत वर्षबाट सञ्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चारतारेस्तरको होटेल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटेलको रूपमा गोल्ड अवार्ड पाएको हो।
यस्तै, पोखराको 'नेचुरल भ्यु पोइन्ट' सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ। माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृंखला र सूर्योदय हेर्दै रमाउन सकिने बाथटब, शीतल मौसम र उत्कृष्ट आतिथ्यताले सारङकोट माउन्टेन लज प्रसिद्ध छ।
निकुञ्जभित्रका होटेलको झल्को दिने पर्यावरणमैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ। चितवनको मेघौलीमा रहेको सो लज 'लिजर टुरिजम'का लागि उत्कृष्ट गन्तव्य हो।
यस्तै, पोखराको नौ नम्बर स्ट्रिटमा रहेको होटेल 'आवास पोखरा'ले ४० भन्दा कम रुमको लिडिङ सिटी होटेलको अवार्ड पाएको छ। रुफटप बार, इन्फिनिटी स्विमिङपुलसहितको यो होटेल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ।
हस्पिटालिटिको उत्कृष्ट अभ्यास गर्ने आफ्ना कर्मचारीहरूको कारण अवार्ड प्राप्त गर्न सफल भएको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए।
साटाका संस्करणहरू दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिँदै आइएको छ। यसपटकको ८औँ संस्करण होटेल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो।
दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ। हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटेल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ। कार्यक्रममा ६ देशका दुई सय ५० भन्दा बढी होटेल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो।