एनपिएल आयोजनाको लागि राखेपमा हेल्प डेक्स स्थापना

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हेल्प डेक्स स्थापना गरिएको छ।

राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए। उनले विदेशी खेलाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिए।

क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिए।

क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपिएल सञ्चालन गर्दै छ। एनपिएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको लिग तथा फ्रेन्चाइज लिग सञ्चालन तथा आयोजनासम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरेको हो।

डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विशेष गरी विदेशी खेलाडीले श्रम स्वीकृति पाउन सहज हुने बताए।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीनसदस्यीय डेक्स स्थापना गरेको छ।

See More On

सुझावित समाचार