जिल्लाको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा–पखाला हैजा पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । हैजा पुष्टि भएसँगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार एक सूचना जारी गर्दै राजपुर नगरपालिका– ४ स्थित जोबैर चाेकदेखि मदनी चाेक, शेख अब्दुल्लाहको खलिहानदेखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
उक्त क्षेत्रमा स्वास्थ्य कार्यालय प्रमुखको अनुमतिविना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, अत्यावश्यक कामबाहेक कुनै व्यक्ति हिँडडुल गर्न नपाउने सिडियो हीरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै, एक–अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यकबाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा, मासु ओसारपसार, बिक्री–वितरण गर्न नपाउने, स्थानीय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने–गराउने सूचनामा उल्लेख गरिएको छ ।
राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते एकजनामा झाडापखाला देखिएकोमा त्यसपछि क्रमश: बढ्दै गएको तथा आरडिटी र कल्चरको रिपोर्ट पजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावतलगायत गतिविधि तत्काल रोक्न सहयोगका लागि अनुरोध गरिएको थियो । नगरपालिकाको आग्रहसँगै सुरक्षा निकायका प्रमुखसहित डाक्टरको टोलीले हैजा प्रभावित क्षेत्रमा अनुगमन निरीक्षण गरेपछि दुई वडा निषेधित क्षेत्र घाेषणा गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।
सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहसहित सुरक्षा अधिकारीको टोलीले हैजा प्रभावित क्षेत्र राजपुर ३ र ४ को स्थलगत अनुगमन गरेको थियो । त्यसअघि प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वकाे टाेली शनिबार आवश्यक औषधिसहित पुगेको थियो ।
राजपुरको दुई वडामा झाडापखालाको बिरामीको संख्या बढ्दै गएकाले प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हासमी, डाक्टर मुरारी ठाकुर, इमर्जेन्सी इन्चार्ज डाक्टर राजेशकुमार सिंह, डाक्टर गोपाल गुप्तालगायतको टिम आवश्यक औषधि लिएर प्रभावित क्षेत्रमा पुगेको थियो ।
बिहीबार र शुक्रबार २२ जना झाडापखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सोमध्ये सातजना बिरामीको दिसाको सेम्पल टेस्टका लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन् ।
२२ जना बिरामीमध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका सात र एकजना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको छ ।