काठमाडौं जिल्लाको पाँचौँ साधारणसभा सम्पन्न

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं जिल्ला क्रिकेट संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार काठमाडौंमा भएको कार्यक्रममा जिल्ला संघका अध्यक्ष दिवाकर घलेले वर्षभरि गरिएका कार्यक्रम प्रस्तुत गरेका थिए। 

सोही अवसरमा नेपालका पूर्वप्रशिक्षकद्वय अरुण अर्याल र सुनोज भट्टराईलाई सम्मान गरिएको थियो। भट्टराईको प्रशिक्षणमा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो। 

साधारणसभामा नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका काठमाडौं जिल्लाका तीन महिला तथा एक पुरुष खेलाडीलाई सम्मान पनि गरिएको थियो। महिलातर्फ अस्मिना कर्माचार्य, खुसी डंगोल र कञ्चन श्रेष्ठ तथा पुरुषतर्फ उत्तम थापामगरलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरियो। 

अस्मिना, खुसी र कञ्चन नेपालले हङकङमा त्रिकोणात्मक ट्वान्टी २० शृंखला खेल्दा टोलीमा थिए। यसैगरी, उत्तमले दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू १९ एकदिवसीय विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए। 

उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले नेपाली क्रिकेटको विकासमा काठमाडौं जिल्लाको ठुलो योगदान रहेको बताए। 

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संघमा आबद्ध ४५ जिल्लामध्ये काठमाडौंले सर्वश्रेष्ठ काम गर्दै आएको बताउँदै अबको दिनमा संघको आफ्नै मैदान हुनुपर्ने धारणा राखे। 

साधारणसभाले जिल्ला संघको वार्षिक प्रतिवेदन एवं आय-व्ययको विवरण पारित गरेको छ। अध्यक्ष घलेले काठमाडौंमा क्रिकेट विकासको लागि सबैलाई धन्यवाद दिए। 

सुझावित समाचार