पहाडी जिल्लामा बल्ल चामल ढुवानी

दसैँका लागि कर्णालीमा चामल पठाउन बल्ल टेन्डर

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिमका सात जिल्लाका ३२ वटा खाद्य डिपो र बिक्री केन्द्रमध्ये अधिकांशमा छैन चामलको मौज्दात

दसैँलाई लक्षित गरेर सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा खाद्यान्न ढुवानी सुरु भएको छ । सात जिल्लामा रहेका खाद्यका ३२ वटा डिपो र बिक्री केन्द्रमध्ये अधिकांशमा चामलको मौज्दात छैन । जिल्ला सरमुकाम र सहुलियत मूल्य पसल सञ्चालन हुने स्थानमा दुई–दुई सय क्विन्टल चामल पठाउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीका निमित्त प्रमुख इन्जिला बस्नेतले बताइन् ।

सातवटै जिल्लाका सदरमुकाम, बाजुराको कोल्टी, दार्चुलाको खण्डेश्वरी र बझाङको काँडा डिपोमा पनि खाद्यान्न पठाइने उनले जानकारी दिइन् । ‘चामल ढुवानीका लागि ढुवानीकर्तासँग सम्झौताको प्रक्रियामा छ, सहुलियत पसल सञ्चालनका लागि सम्झौताअघि नै ढुवानीकर्ताले चामल ढुवानी थालेको छ,’ उनले भनिन्, ‘सम्झौता भएपछि अरू ठाउँमा पनि चामल पठाउँछौँ ।’

जिल्ला सदरमुकाम तथा बाजुराको कोल्टी, दार्चुलाको खण्डेश्वरी र बझाङको काँडाबाहेक अन्य डिपोमा १५ असोजपछि मात्र ढुवानी सुरु हुने खाद्यले जनाएको छ । खाद्यका अनुसार बाजुराको कवाडीमा रहेको डिपो र मुक्तिकोट बिक्री केन्द्रमा चामलको मौज्दात सकिएको छ । मार्तडीमा करिब चार हजार क्विन्टल र कोल्टीमा करिब दुई हजार आठ सय क्विन्टल चामल मौज्दात छ । बाजुरामा खाद्यले बर्सेनि २० हजार क्विन्टल चामल बिक्री गर्छ ।

बझाङको साइपाल गाउँपालिकाको काँडामा चामलको मौज्दात सकिएपछि गाउँपालिका अध्यक्ष मानवीर बोहरा चामल माग्दै खाद्य व्यवस्थाको क्षेत्रीय कार्यालय धनगढी पुगेका थिए । उनले काँडास्थित खाद्यको डिपोमा एक महिनादेखि चामल सकिएको बताए । ‘अहिले ढुवानी हुन नसके चाडबाडका वेला त्यहाँका नागरिकले खाद्यान्न अभावको समस्या भोग्नुपर्ने हुन्छ,’ उनले भने, अध्यक्ष बोहराले दसैँका लागि करिब हजार क्विन्टल चामल आवश्यक पर्ने बताए ।

बझाङ सदरमुकामको बिक्री केन्द्रमा करिब दुई सय क्विन्टल मात्र चामल मौज्दात रहेको र सदरमुकामबाहिरका तीन बिक्री केन्द्रमा मौज्दात सकिएको खाद्यको प्रादेशिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दार्चुलामा खाद्यको चामल बिक्री हुने ११ ठाउँमध्ये सदरमुकामको बिक्री केन्द्रमा मात्र पाँच सय क्विन्टल चामल मौज्दात छ । अछाममा चारवटा बिक्री केन्द्रमध्ये सदरमुकाममा मात्र तीन सय क्विन्टल चामल मौज्दात रहेको निमित्त प्रमुख बस्नेतले जानकारी दिइन् । 

बैतडीका चारवटै बिक्री केन्द्र खाली छन् । बैतडी र डोटीमा खाद्यले वर्षभरिमा दुई–दुई हजार क्विन्टल कोटा निर्धारण गर्छ । डोटीमा दसैँका लागि सहुलियत मूल्य पसल सञ्चालन गर्न पनि चामल थिएन । सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा बाजुरा, दार्चुला र बझाङमा खाद्यको चामल बढी बिक्री हुन्छ । स्थानीयले आवश्यकताअनुसार व्यापारीबाट किन्ने भएकाले डोटी, डडेल्धुरा, बैतडीमा तुलनात्मक रूपमा खाद्यको चामल कम खपत हुन्छ । धनगढीको गोदामबाट सुदूरपश्चिमका साथै हुम्लाको श्रीनगर, सुर्खेत, मुगुमा समेत खाद्यान्न ढुवानी गर्छ । अन्य जिल्लामा ढुवानीका लागि प्रादेशिक कार्यालयले हरेक सिजनमा कैलाली, कञ्चनपुरमा किसानबाट खाद्यान्न खरिद गर्छ । गत सिजनमा खाद्यले कैलाली, कञ्चनपुरबाट करिब साढे २१ हजार क्विन्टल धान खरिद गरेको थियो । 

दसैँका लागि कर्णालीमा चामल पठाउन बल्ल टेन्डर
कर्णाली र लुम्बिनीको पहाडी क्षेत्रमा चामल ढुवानीका लागि खाद्य कम्पनीले टेन्डर आह्वान गरेको छ । ३२ हजारमध्ये २६ हजार क्विन्टल कर्णाली प्रदेशको हिमाली तथा पहाडी जिल्लाका लागि हो । ‘इ–बिडिङमार्फत भएको टेन्डर केन्द्रले खोलेर छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पाएका छौँ,’ कम्पनी नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले भने, ‘ढुवानीका लागि ढुवानी कम्पनीसँग सम्झौता भए पनि दसैँअघि लैजान सम्भव देखिँदैन ।’ उनले कम्पनीले नै चामल अभाव भएको जिल्लामा पठाउने बताए । तर, जिल्लास्थित खाद्यका गोदाममा चामल रहेकाले अभाव नहुने दाबी उनले गरे । लामिछानेका अनुसार नेपालगन्जमा १३ हजार क्विन्टल चामल मौज्दात छ ।

खाद्य कम्पनी कर्णाली प्रदेश कार्यालयका प्रमुख माधव मिश्रका अनुसार सुुर्खेतमा नौ हजार क्विन्टल र हुम्लामा आठ हजार क्विन्टल चामल मौज्दात छ । जुम्लामा भने दुई सय क्विन्टल मात्र चामल छ । ‘जुम्लामा अलि थोरै मौज्दात छ, आइतबार थप १६० क्विन्टल चामल पठाएका छौँ । फेरि आशयपत्र जारी गरेर थप चामल सुर्खेतबाट पठाउँछौँ,’ मिश्रले भने । कम्पनीको कर्णाली प्रादेशिक कार्यालयले कर्णाली प्रदेशमा पर्ने सल्यान र पश्चिम रुकुमबाहेक सबै जिल्लामा चामल पठाउने गरेको छ ।

See More On

सुझावित समाचार