सहरलाई हरियालीयुक्त बनाउन सडक किनारमा बिरुवा रोपेर हुर्काउने अभियानमा सक्रिय विराटनगरका अभियन्ताहरूले अब जथाभावी फोहोर फाल्न नदिन राति ढोल बजाएर निगरानी गर्न थालेका छन् ।
विराटनगरको मुख्य कोशी राजमार्ग किनारमा स्वतस्फूर्त रूपमा नागरिकको तर्फबाट रोपिएका बिरुवाको संरक्षणका लागि निगरानी गर्ने क्रममा जथाभावी सडकमा फोहोर फालेको देखेपछि अभियन्ताहरूले राति ढोल बजाएर निगरानी गर्न थालेका हुन् । हरेक दिन हरियाली अभियन्ताहरू रोपिएका बिरुवाको संरक्षणका लागि निस्कने गर्दछन् । त्यही क्रममा जथाभावी फोहोर फाल्न नदिन राति ढोल बजाएर निगरानी गर्न थालेको अभियन्ता पारुल क्षेत्रीले बताए ।
बिरुवाको संरक्षण गर्ने क्रममै साँझ फोहोर फाल्नेहरूको निगरानी थालेपछि विराटनगरका भित्री सडकहरूमा जथाभावी फोहोर फाल्नेहरू घट्न थालेका छन् । निरन्तर निगरानी गरेकै कारण विराटनगरको सत्यनारायण स्कुल उत्तरको दुर्गन्धित सडक आजभाेलि सफा भएको छ। अभियन्ताहरूले राति ढोल बजाएर फोहोर फाल्नेहरूको निगरानी थालेपछि विराटनगरका मुख्य मार्गमा राति सुनसान अवस्थाको फाइदा उठाउँदै जथाभावी फोहोर फाल्नेहरू नियन्त्रण हुन थालेको महानगरपालिका सरसफाइ शाखा प्रमुख पुनम दाहालकाे भनाइ छ ।
उनका अनुसार राति फोहोर फाल्नेहरूको पहिचान भएमा अभियन्ताहरूले उनीहरूको घरअगाडि गएर आधा घण्टा जति ढोल बजाएर जथाभावी फोहोर फाल्न हुँदैन भन्दै सचेत गराउने गरेका छन्। विराटनगर महानगरपालिकाले फोहोरमैला नियन्त्रण गर्न निर्देशिका लागू गरे पनि गैरजिम्मेवार नागरिकले अझै लुकेर सार्वजनिक स्थलमा फोहोर फाल्ने गरेका छन् । जसले गर्दा सफा विराटनगर अभियानमा बाधा पुगिरहेको छ । ‘हरियाली अभियन्ताहरूले झैँ सबै नागरिकले टोलटोलमा जथाभावी फोहोर फाल्नेहरूको निगरानी गरे विराटनगरलाई चाँडै ‘ग्रिन र क्लिन’ सहरका रूपमा चिनाउन सकिनेरहेछ’, विराटनगरवासी कमला शर्माले भनिन् ।
विराटनगरलाई शीतल हरियालीयुक्त बनाउन नागरिकहरूले स्वतस्फूर्त रूपमा मुख्य कोशी राजमार्गको दायाँबायाँ किनारमा बिरुवा रोपेका छन् । उनीहरूले रोपिएका बिरुवा संरक्षणका लागि हरेक दिन साँझ बिहान सामूहिक निगरानी गर्ने गरेका छन् ।