आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।
क्यानडाको किंग्स सिटी मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो। आजको खेलमा नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ।
यस शृंखलाअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल यही असोज ६ गते खेल्नेछ भने ८ गते ओमानसँग खेल्नेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडा सहभागी छन्।
एकदिवसीय त्रिकोणात्मक शृंखला यही असोज १० गतेसम्म सञ्चालन हुनेछ। यो खेल सकिएपछि यी तीन टोलीबिच टी–२० शृंखलाअन्तर्गतको खेल पनि हुनेछ । त्यसपछि नेपाली टोली लिग– २ को अर्को त्रिकोणात्मक शृंखला खेल्न त्यहीँबाट अमेरिका जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।