सर्वमान्य नेता गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइयो

जनतालाई सार्वभौमसत्तासम्पन्न र अधिकारसम्पन्न बनाउन सिंहको अतुलनीय योगदान: उपप्रधानमन्त्री सिंह

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका संस्थापक एवं ०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइएको छ। दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरियाे।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री तथा गणेशमान सिंहपुत्र प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे। उनले नागरिकलाई अधिकारसम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो जेलजीवन बिताएको र कसैसँग सम्झौता नगरेको बताए ।

‘नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कु गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको नेताका रूपमा हामी गणेशमान सिंहलाई सम्झन्छौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘६ दशकभन्दा लामो सक्रिय राजनीतिमा उनले राणा र पञ्चायतका वेला १५ वर्ष जेल र अर्को १५ वर्ष निर्वासनमा बिताए । यसबाट देशमा जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन, अधिकारसम्पन्न बनाउन उनकाे प्रतिबद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौँ ।’  

१९९७ सालदेखि नै राणाशासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रूपमा सक्रिय  रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए । उनले अहिले राजनीतिमा कुर्सीको होड चलिरहे पनि गणेशमान सिंहले आफूलाई नभई देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरेको पाठ गणेशमानको जीवनीबाट सिक्न सकिने बताए ।

प्रजातन्त्र पुनर्स्थापनापछि सिंहले कांग्रेस नेतृत्वकै सरकारलाई पनि खबरदारी गरेको स्मरण गरे । ‘०४६ पछि प्रजातन्त्र पुनर्स्थापना सबैको प्रयासले भएको हो । त्यसैले सबैलाई समावेश गर्नुपर्छ । कुनै विशेष वर्गलाई मात्र होइन, चार जात ३६ वर्णको नेपाल हो । नीति निर्माण गर्ने थलोदेखि राजनीतिक नियुक्तिसम्म राज्यका निकायहरूमा अवसर नपाएकाहरूलाई समावेश गर्नुपर्छ भनेर समावेशिताको कुरालाई त्यतिवेलै जोड दिनुभएको कुरालाई हामीले ख्याल गर्नुपर्छ ।’

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन ०५४ साल असोज २ गते भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

सुझावित समाचार