सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ बाट प्रहरीले चेकजाँचको क्रममा स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजनालाई पक्राउ गरेको छ।
जिल्लाको दक्षिणी सीमावर्ती भगवानपुरबाट स ९ प ११६२ नम्बरको मोटरसाइकल चढेर हुन्डीसम्बन्धी कारोबार गर्नेहरू लहानतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लहानतर्फ आउँदै गरेका तीनजना चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूले आ–आफ्नो साथमा लुकाएको १४ लाख १९ हजार आठ सय ९० नेपाली रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका- १० बस्ने मोटरसाइकलचालक करिब ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मो. अलाउद्दिन र २३ वर्षीय अजय चौधरी रहेका छन्। मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मियाँले कम्बरी (पटुका)मा लुकाएको आठ लाख १४ हजार आठ सय ९०, अलाउद्दिनबाट दुई लाख चार हजार पाँच सय र चौधरीको साथबाट चार लाख पाँच सय तथा चार सय भारतीय मुद्रा बरामद भएको उनले बताए।
सापकापेटाका अनुसार स्रोत नखुलेको रकम, मोटरसाइकलसहित पक्राउ गरेका तीनजनाविरुद्ध सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर लहान प्रहरीमा राखी थप अनुसन्धान भइरहेको छ।