राखेपका रिक्त सात सदस्य नियुक्तिको तयारीमा खेलकुदमन्त्री चौधरी

मन्त्री चौधरीले नियुक्त गर्ने सदस्यको सूची तयार गरेका छन्, जसमा पिए लालबहादुर जिसी र उनी अध्यक्ष रहेको नाइटिंगल अन्तर्राष्ट्रिय सेकेन्डरी स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानसमेतको नाम छ

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

खेलकुदमन्त्री चौधरीले भने–राखेपको रिक्त सदस्य नियुक्ति गर्ने नामको अहिलेसम्म टुंगो लागिसकेको छैन 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा रिक्त सात सदस्य नियुक्तिको तयारी गरेका छन् । उनले तयार गरेको सूचीमा पिए र आफैँले सञ्चालन गरेको स्कुलकी प्रिन्सिपलसमेतको नाम छ । 

स्रोतका अनुसार चौधरीले स्वकीय सचिव लालबहादुर जिसी, आफू अध्यक्ष रहेको नाइटिंगल अन्तर्राष्ट्रिय सेकेन्डरी स्कुलकी सञ्चालक रञ्जना प्रधानसहित कांग्रेसनिकट सातजनालाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गर्ने तयारी गरेका हुन् । यद्यपि, मन्त्री चौधरीले अहिल्यै रिक्त सदस्य नियुक्त गर्ने तयारी नभएको बताए । ‘अहिलेसम्म नाम टुंगो लागिसकेको छैन,’ उनले भने । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पनि यस विषयमा आफूलाई थाहा नभएको बताए । ‘यो मन्त्रीस्तरीय निर्णयबाट हुने काम हो । सदस्य नियुक्त भइसकेपछि राखेपमा बोधार्थ आउँछ । अहिलेसम्म आएको छैन,’ उनले भने । 

राखेप सदस्यको कार्यकाल चार वर्षको हुनेछ । मन्त्रीले नियुक्ति दिने तयारी गरेका अन्य सदस्यमा दिनेश व्यञ्जनकार, रामचन्द्र श्रेष्ठ, प्रतिमा चौधरी, विनोद चन्द र थारू विद्यार्थी समाजका चन्द्रप्रसाद चौधरी छन् । कांग्रेसनिकट रहेका व्यञ्जनकार सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब च्यासल युथका पूर्वअध्यक्ष हुन् । त्यस्तै, रामचन्द्र श्रेष्ठ होटेल व्यवसायी हुन् । प्रतिभा चौधरीको नाम पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सिफारिस गरेका हुन् । 

स्पोर्टस् फर अल कमिसनमा रञ्जना 
रञ्जना प्रधान नेपाल ओलम्पिक कमिटीको स्पोर्टस् फर अल कमिसनको सदस्य छिन् । उनी मन्त्री चौधरी अध्यक्ष रहेको नाइटिंगल अन्तर्राष्ट्रिय सेकेन्डरी स्कुलकी प्रिन्सिपल हुन् । उनी मन्त्रालयको कोटामा यसअघि पेरिस ओलम्पिकमा पदाधिकारी बनेर गएकी थिइन् । 

२६ जुलाईदेखि ११ अगस्टसम्म भएको प्रतियोगितामा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका थिए । तर, सहभागी हुनेमा खेलाडी र प्रशिक्षकभन्दा पदाधिकारीको संख्या धेरै थियो । कुल ३९ सदस्य पेरिस पुगेपछि चर्काे विरोध भएको थियो । हालसम्म पनि नेपाल ओलम्पिक कमिटी र राखेपले कतिजना ओलम्पिक पुगे भनेर आधिकारिक सूची सार्वजनिक गरेको छैन । 

प्रसाईंको नियुक्ति पनि विवादमा 
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले कोशी प्रदेशका नायब वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक बनाएको थियो । वरीयता मिचेर दिइएको उक्त नियुक्तिमा आपत्ति जनाउँदै ओलम्पियन तथा प्रशिक्षण विभागकी उपनिर्देशक संगिना वैद्यले राजीनामा दिएकी थिइन् । 

राखेपमा उपनिर्देशक नै निर्देशक हुने गरेको इतिहास छ । तर, संगिना र अर्का उपनिर्देशक विष्णुबहादुर सिंह दुवैलाई बेवास्ता गरेर मन्त्री चौधरीले उनीहरूभन्दा तल्लो वरीयताका प्रसाईंलाई निर्देशक बनाउन सिफारिस गरेका थिए । जसलाई राखेप सदस्यसचिव टंकलाल घिसिङले अनुमोदन गरे । संगिनाले यसलाई आफूमाथि भएको अपमानका रूपमा टिप्पणी गरेकी थिइन् । 

नियुक्ति दिन तयारी गरिएका सातजना

  • रञ्जना प्रधान
  • प्रतिमा चौधरी
  • लालबहादुर जिसी
  • चन्द्रप्रसाद चौधरी
  • दिनेश व्यञ्जनकार
  • रामचन्द्र श्रेष्ठ 
  • विनोद चन्द
See More On

सुझावित समाचार