वर्तमान सरकार भ्रष्टाचारको भयबाट बनेको हो : प्रचण्ड

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको भयबाट बनेको बताएका छन् । शनिबार मोरङको ग्रामथान गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सरकारमा रहँदा आफूहरूले छोटो समयमा पनि राम्रो काम गर्न सफल भएकैले बिजेताको भावमा आफू जनतामाझ आएको बताए । सोही कारण अहिले सरकारमा रहनेहरूमा डरले गएको सातो अझै नफर्किएको बताए । 

प्रचण्डले जीवनको उत्तराद्र्ध भए पनि आफूमा जोश आएको बताए । ‘भ्रष्टाचारविरूद्ध सुशासनको पक्षमा लड्ने जोश आएको छ । मरेपछि पनि बाँचिरहने बन्ने मेरो प्रयास छ,’ उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूको भ्रष्टाचारविरुद्ध कदम चालेकाले जोगिनका लागि तथाकथित गठबन्धन बनाएर आफ्नो सरकारलाई १८ महिनामै बाहिरिन बाध्य बनाएको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि मेरो नेतृत्वको सरकार तथाकथित गठबन्धन बनाएर ढालिएको हो,’ प्रचण्डले भने । उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्ध मात्र नभएर सामाजिक न्याय, सुशासन र आर्थिक क्षेत्रमा पनि उल्लेख्य काम गरेको दाबी गरे ।

देशमा उज्यालो अभियान सफल बनाउन लागिपरेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउने पर्ने उनले चेतावनी दिए । सत्तारुढ कांग्रेस र एमालेलाई दुईतिहाइको सरकार छ भनेर दम्भ देखायौ भने बंगलादेश हेर्दा हुन्छ भनेर आफूले भनेको भन्दै उनले शतप्रतिशत मत ल्याएको सद्दाम हुसेनको उदाहरण स्मरण गर्न पनि प्रचण्डले आग्रह गरे ।

‘हिंसा शब्द नसच्चिएसम्म संसद् बैठक चल्न दिँदैनौँ’
प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद्को अवरोध कायमै रहने बताएका छन् । शनिबार नै विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जनताका लागि भएको परिवर्तनको सशस्त्र लडाईंलाई सत्ताधारी दल एमालेले ‘हिंसा’ भनेर भ्रम छरिरहेकाले त्यो विषय नसच्चिएसम्म संसद्मा माओवादीको अवरोध कायमै रहने अडान दोहोर्याए । ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रंश र अपव्याख्या गरेर भ्रम छर्ने काम गरिररहेका छन् । त्यो विषय सम्बोधन नभएसम्म संसद्मा हाम्रो विरोध जारी रहन्छ,’ उनले भने । प्रचण्डले कांग्रेस र एमाले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट पछि हट्न सक्ने बताए । राना इमानदार, जनजाति महिला, बालबच्चाको सेवाका लागि प्रसिद्ध भइसकेको व्यक्ति भएको र जानेर गल्ती नगरेकाले उनलाई हटाउने कुराबाट सत्तापक्ष पछि हट्न सक्ने बताए । ‘उहाँबाट टेक्निकल्ली कुरा नजानेर त्रुटि भएको हो, त्यसैलाई लिएर पदबाटै हटाउनेसम्म जानुहँुदैन भन्नेमा हामी दृढ छौँ । सायद कांग्रेस एमाले पनि पछि हट्छन्जस्तो लाग्छ,’ उनले भने ।

See More On

सुझावित समाचार