लगातार चार दिन ओरालो लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने बढेर बजार बन्द भएको छ । बिहीबार परिसूचक ७८.३१ (३ प्रतिशत) अंकले बढेको हो । सुरुवाती कारोबारमा उतारचढाव व्यहोरिरहेको परिसूचकले मध्याह्न १.४५ बजेपछि भने उकालो यात्रा तय गर्दै २६८८.५३ विन्दुमा रोकिएको हो ।
आइतबार परिसूचक २५.४६ अंकले घटेर २७०१.९ विन्दुमा पुगेको थियो । त्यसपछि सोमबार ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेको थियो । मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा आइपुग्यो भने बुधबार २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको थियो । साताभरमा परिसूचक ३८.८३ अंकले घटेको छ ।
त्यस्तै, साताको अन्तिम दिन शुक्रबार हालसम्मकै कीर्तिमानी मूल्यमा सुन किनबेच भएको छ । पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
सोमबार तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भयो । मंगलबार दुई सय रुपैयाँले बढेर एक लाख ५२ हजार चार सय रुपैयाँ पुग्यो । बुधबार तोलामै एक हजार रुपैयाँले बढेर एक लाख ५३ हजार चार सय रुपैयाँमा किनबेच भएको सुन बिहीबार एक सय रुपैयाँले सस्तिएर एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भयो ।
शुक्रबार सुन तोलामा तीन हजार रुपैयाँले बढेर एक लाख ५६ हजार तीन सय रुपैयाँमा किनबेच भयो । यो साता चाँदीको मूल्य बढेर एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ ।