पल्सर स्पोर्टस् अवार्ड २०८० : रोहित र एरिका वर्षका उत्कृष्ट खेलाडी

शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण
पल्सर स्पोर्टस् अवार्ड २०८० : रोहित र एरिका वर्षका उत्कृष्ट खेलाडी

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८० को विभिन्न विधाका उत्कृष्ट सामूहिक फोटो खिचाउँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

२३औँ संस्करणको पल्सर स्पोर्टस् अवार्ड २०८० मा पुरुषतर्फ क्रिकेटका कप्तान रोहितकुमार पौडेल र महिलामा कराँतेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान आयोजना गरेको अवार्डमा रोहित र एरिकाले बाजी मारेका हुन् । गत वर्ष अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका आधारमा खेलाडी तथा प्रशिक्षक मनोनयनमा परेका छन् । 

क्रिकेटका सर्वाधिक पाँच विभिन्न विधामा मनोनयनमा परेका थिए । कराँते र फुटबलका तीन–तीन खेलाडीले अवार्डका लागि दाबेदारीमा दिएका थिए । अवार्डमा कराँते सर्वाधिक सफल बन्यो । कराँतेका महिला खेलाडी वर्ष उत्कृष्ट हुँदा प्रशिक्षकमा कुशल श्रेष्ठले उपाधि जितेका छन् । भारोत्तोलन र भलिबलले एक–एक विधामा उत्कृष्ट अवार्ड जितेका छन् । अवार्डअन्तर्गत पारा एथलेटिक्समा तेक्वान्दोकी पलेसा गोवद्र्धन उत्कृष्ट बनिन् । स्पेसल अवार्ड भलिबलका प्रशिक्षक कुमार राईले पाएका छन् । 

यसैगरी, दक्षिण कोरियाका पत्रकार तथा एआपिएस एसियाका अध्यक्ष ही डोङ जोङले एनएसजेएफ स्पोर्टस् अवार्डमा एसियन स्पोर्टस् जर्नालिस्टको अवार्ड प्राप्त गरेका छन् । सोही अवसरमा एसियाका विभिन्न राष्ट्रका पत्रकारहरूलाई लिजेन्ड्स अवार्ड प्रदान गरिएको थियो । नेपालबाट मञ्चका अध्यक्ष देवेन्द्रनाथ सुवेदीले लिजेन्ड अवार्ड जितेका छन् । गत वर्ष १९औँ हाङझाउ एसियाडमा टिम इभेन्ट्समा नेपाललाई ऐतिहासिक कांस्य दिलाएको महिला कवड्डी टोली ‘टिम अफ दी इयर’ बन्यो ।

नेपाली खेलकुदमा लामो समय योगदान गरेका नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । भोटिङका आधारमा हुने पिपुल्स च्वाइस अवार्ड भने भलिबलकी कविता भट्टले जितेकी छिन् । उनले सर्वाधिक ५४ प्रतिशत मत पाएकी थिइन् । प्रत्येक विधाका विजेताहरूले पल्सर पाएका छन् । पिपुल्स च्वाइसका विजेताले पल्सरको नयाँ सिरिज एन ४०० पाउनेछन् । उपाधिसँगै विजेताले जनही एक लाख रुपैयाँ पाउने मञ्चका महासचिव प्रज्वल ओलीले बताए । को हलमा जोङलाई अवार्ड प्रदान गर्यो ।

रोहितको कप्तानीमा एसिया कप तथा विश्वकपमा छनोट
गत वर्ष रोहितको कप्तानीमा नेपालले दुई महत्वपूर्ण सफलता हात पारेको थियो । नेपाल १० वर्षपछि आइसिसी टी–२० विश्वकप र पहिलोपटक एसिया कपमा छनोट भएको थियो । उनकै कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि उचालेको थियो । गत वर्ष रोहितको कप्तानीसँगै ब्याटिङ पनि समानान्तर रूपमा चलेको थियो । उनले २५ अन्तर्राष्ट्रिय टी–२० खेलमा ६ सय ८० रन बनाउँदा पाँच अर्धशतक प्रहार गरेका थिए । यसैगरी, उनले चार विकेट पनि लिए । उनले वर्ष उत्कृष्ट विधामा उत्कृष्ट अवार्ड जित्दा क्रिकेटकै दीपेन्द्रसिंह ऐरीसँगै फुटबलका अनन्त तामाङ, कराँतेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्न सफल भए ।

एसियाडमा रजत दिलाएकी एरिका 
गत वर्ष चीनको हाङझाउमा १९औँ एसियन खेलकुद प्रतियोगितामा नेपालले ऐतिहासिक रजत पदक कराँतेबाट प्राप्त गरेको थियो । एसियाडको अन्तिम दिनमा एरिकाले क्वार्टरफाइनलदेखि फाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत विधातर्फ नेपाललाई सन् १९९८ पछि रजत पदक दिलाउन सफल भइन् । बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलोपटक व्यक्तिगत इभेन्टमा रजत दिलाएकी थिइन् । सवितापछि एसियाडमा रजत जित्ने एरिका दोस्रो खेलाडी हुन् । उनले ६८ केजी तौल समूहमा रजत जितेकी थिइन् । उनको रजत कराँते खेलमा सर्वाधिक ठुलो पदक हो । एसियाडमा सहभागी हुनुअघि उनले इन्डोनेसियाको जकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । एरिकाले वर्ष उत्कृष्ट महिला खेलाडी बन्न एसियाडकी कांस्य विजेता कबड्डीकी मेनुका राजवंशी, महिला क्रिकेटमा पहिलो शतकीय इनिङ्स खेलेकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पार्न सफल भइन् । 

पलेसाले जितिन् पारा एथलिट अवार्ड
पारा तेक्वान्दोतर्फ वर्षको उत्कृष्ट खेलाडीका रूपमा पलेसा बनेकी छिन् । पारा एथलिट अवार्ड जितेकी उनले गत वर्ष हाङझाउमै भएको पारा एसियाडमा उनले नेपाललाई कांस्य दिलाएकी थिइन् । नेपाललाई एसियाडको पारातर्फ पहिलोपटक पदक उनले दिलाएकी हुन् । यसै पदकका आधारमा उनी पहिलोपटक पेरिस पारा ओलम्पिकमा समेत छनोट भइन् । दुई साताअघि उनले पेरिसमा ऐतिहासिक रूपमा नेपाललाई कांस्य पदक दिलाइन् । नेपालको खेलकुदमा पलेसाको यो पदक अहिलेसम्ममै सर्वाधिक ठुलो हो । उनले आफ्नो सफलतामा प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिएकी थिइन् । 

कविताले ल्याइन् सर्वाधिक ५६ प्रतिशत मत
पल्सर स्पोर्टस् अवार्डमा एक मात्र विजेता भोटिङका आधारमा हुन्छ । पिपुल्स च्वाइस अवार्डमा सर्वाधिक मत प्राप्त गर्ने खेलाडी बन्ने गर्छन् । यसपटक भलिबलकी राष्ट्रिय खेलाडी कविताले पिपल्स च्वाइस अवार्ड हात पारिन् । सर्वाधिक ५६ प्रतिशत मतका साथ उनी यस विधाकी विजेता बनेकी हुन् । यसै वर्ष काभा महिला नेसन्समा नेपाल उपविजेता हुँदा र काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो हुँदा उनी टोलीकै महत्वपूर्ण सदस्य थिइन् । १९ प्रतिशत मतसाथ कबड्डीकी मानमती विष्ट दोस्रो स्थानमा रहिन् । फुटबलकी प्रीति राईले तेस्रो स्थान रक्षा गर्दा १६ प्रतिशत मत पाएकी छिन् । क्रिकेटका गुल्सन झा र रग्बीका श्रीरामले समान ४ प्रतिशत मत पाए । 

श्रेष्ठको प्रशिक्षणमा एसियाड पदक 
गत वर्ष कराँतेका प्रशिक्षक कुशल अति अन्तर्राष्ट्रिय खेलमा व्यस्त भए । व्यस्त हुनुका साथै उनले नेपाललाई दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलमा स्वर्ण तथा कांस्य पदक दिलाउन सफल भए । उनकै प्रशिक्षणमा एरिकाले कराँतेमा पहिलोपटक एसियाडमा रजत जितेकी थिइन् । यसैगरी, कुशलकै प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय कराँते टोलीले गत वर्ष नै इन्डोनेसियामा दसौँ विश्व सितेरियो कराँते च्याम्पियनसिपमा एक स्वर्ण, तीन रजत र पाँच कांस्यसहित नौ पदक जितेको थियो । विश्व सितेरियोमा पनि एरिकाले स्वर्ण जितेकी थिइन । यसैगरी, भुटानमा भएको सातौँ एसियन कराँते च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण, २५ रजत र सात कांस्यसहित पहिलो भयो । कुशलले युएस ओपन कराँते च्याम्पियनसिपमा नेपाललाई समान एक स्वर्ण र रजत दिलाए । गत वर्ष कराँतेमा छाएका कुशलले वर्षको उत्कृष्ट प्रशिक्षक उपाधि जित्दा पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भारत्तोलनका सञ्जय महर्जनलाई‌ निराश पारे ।

पाण्डेलाई‌ लाइफटाइम अचिभमेन्ट अवार्ड 
क्यानमा चार दशक महासचिवका रूपमा बिताएका विनयराजले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् । क्यानका पूर्वअध्यक्षसमेत रहेका उनी क्यानका संस्थापकमध्ये एक सदस्य हुन् । क्यान गठन हुँदा अध्यक्ष जयकुमारनाथ शाह र विनयराज महासचिव थिए । सन् १९६० को दशकमा मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित नहुँदा उनकै सक्रियतामा क्यान गठन भएको थियो । लगभग क्रिकेट विकासमा ६ दशकभन्दा बढी समय उनले दिए । नेपाललाई आइसिसीदेखि एसिसीको सदस्यता दिलाउन उनको भूमिका अहं छ । सन् २००५ देखि २०११ सम्म क्यानका अध्यक्ष पद सम्हालेका उनी एसियाली क्रिकेट परिषद् (एसिसी)को उपाध्यक्षसमेत भएका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएका कारण उनले नेपाललाई आइसिसीको प्रतिबन्ध हटाउन प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले आइसिसी र एसिसीबाट पनि लाइफटाइम सर्भिस अवार्ड प्राप्त गरेका छन् ।

भलिबलका राईलाई स्पेसल अवार्ड
मञ्चले भलिबलमा लामो समयदेखि निःस्वार्थ भावनामा प्रशिक्षण गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेका प्रशिक्षक कुमार राईलाई विशेष अवार्डबाट सम्मानित गरेको छ । अहिले महिला भलिबलले अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेको सफलताको पछाडि राईकै योगदान अधिक छ । उनले प्रशिक्षण दिएका खेलाडीले विभागीयदेखि राष्ट्रिय टोलीसम्म स्थान बनाएका छन् । न्यु डायमन्ड भलिबल एकेडेमीदेखि न्यु डायमन्ड युथ भलिबल क्लबलाई स्थापित गराउन उनको योगदान धेरै छ । उनको प्रशिक्षणमा रेस्मा भण्डारी, रमिला तण्डुकार, प्रगतिनाथ, सलिना श्रेष्ठ, रीमा कुँवर, प्रतिभा माली र कृपा अधिकारीजस्ता राष्ट्रिय महिला खेलाडी जन्मे । 

सुझावित समाचार