एमाले र माओवादी मिल्दा कांग्रेस कार्यकर्ता डराएका थिए, अहिले खुसी छन् : देउवा

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले र माओवादी मिल्दा पार्टीमा डर उत्पन्न भएको, तर अहिले सबै कार्यकर्ता खुसी भएको बताएका छन् । कांग्रेस नेता ताथ कार्यकर्ताको भावनाअनुसार नै एमालेसँग सत्ता सहकार्यको समझदारी भएको उनको भनाइ छ । बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट पालिकालाई सम्मान कार्यक्रमलाई उनले सहमति कांग्रेसको हितमा रहेको दाबी गरे । 

‘हिजो एमाले र माओवादी मिल्दा सबै साथीहरू चिन्तित थिए, डराएका थिए र  अप्ठ्यारो पनि मानेका थिए । ती साथीहरूको भावनाअनुसार मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको हुँ । सहमतिअनुसार अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष बितेपछि डेढ वर्षको निम्ति प्रधानमन्त्री मलाई छाड्ने रिटन (लिखित) सहमति भएको छ । यसले मलाई लाग्छ, देशभरिका साथीहरूमा एउटा सुखद कुरा आएको छ । सबै साथीहरू खुसी छन्,’ देउवाले भने ।

देउवाले एमालेसँग मिलेर सरकार बनेपछि कांग्रेस छाडेर अन्य दलमा जानेहरू कांग्रेसमै फर्कन थालेको दाबीसमेत गरे । उनले कांग्रेस–एमाले मिल्दा अरू पार्टीको अस्तित्व सकिने भ्रममा नपर्नसमेत आग्रह गरे । ‘अरू पार्टीका साथीहरूलाई दुई पार्टी मिल्दा हामी सकिन्छौँ भन्ने डर देखिन्छ । हाम्रो नीति अरूलाई सिध्याउने होइन,’ देउवाले भने, ‘हामी सबैलाई मिलाएर लैजान चाहन्छौँ । मलाई लाग्छ ओलीजीको पनि चाहना त्यस्तो छैन ।’ देउवाले आफू राजनीतिबाट विश्राम लिने अवस्थामा पुगेको भन्दै कांग्रेसलाई अगाडि बढाउने जिम्मा अबको पुस्तालाई रहेको बताए । 

स्थानीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका २१ स्थानीय तहका प्रमुखलाई स्थानीय तह समन्वय विभागले सम्मान गरेको हो । गत निर्वाचनमा ३२९ पालिकामा कांग्रेस उम्मेदवारले जितेका थिए । स्थानीय विभाग प्रमुख मधु आचार्यका अनुसार महालेखापरीक्षकलगायत विभिन्न सरकारी निकायले स्थानीय तहहरूलाई दिएका नम्बरका आधारमा उत्कृष्ट काम गरेका सातै प्रदेशबाट तीन–तीनवटा पालिकालाई सम्मान गरिएको हो । 

उपसभापति धनराज गुरुङले ०८४ सम्म यही गठबन्धन अगाडि बढ्ने बताए । ‘सहमतिअनुसार दुई वर्ष एमाले अध्यक्षलाई प्रधानमन्त्रीमा पूर्ण सहयोग रहन्छ । त्यसपछि हाम्रो सभापतिज्यू प्रधानमन्त्री बन्नुहुनेछ । ०८४ सम्म यही गठबन्धन निरन्तर रहन्छ,’ उनले भने । महामन्त्री गगन थापाले अब हुने स्थानीय उपनिर्वाचनमा परिणाम आउने गरी तयारी गर्नुपर्ने बताए । ‘केही समयभित्रै ३४ ठाउँमा उपनिर्वाचन हुँदै छ । यीमध्ये २१ पद यसअघि कांग्रेसले जितेको हो, त्यो जितलाई कायमै राख्दै अगाडि बढ्नुपर्नेछ,’ उनले भने । 

See More On

सुझावित समाचार