अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन प्रयास गर्ने बताएका छन्। बिहीबार संसदीय सुनुवाइ समितिमा आफ्नो कुरा राख्दै रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसद्को सम्बोधनको वातावरण बनाउन सके अन्तर्राष्ट्रिय उपस्थिति र आर्थिक समृद्धिमा योगदान पुग्ने बताए ।
यसका आगि आफूले बृहत् गृहकार्य गर्ने बताए । उनले यसबारे सरकार र परराष्ट्र मन्त्रालयसँग समेत कुरा गरिसकेको जानकारी दिए ।
उनले भने, ‘राजा वीरेन्द्रको भ्रमणमा राष्ट्रपति रोनाल्ड रेगनले माउन्ट एभरेष्टको देशबाट मेरो मित्र आएको भनेर भने । जोन एफ केनेडीले पनि सगरमाथाको बारेमा बोलेका थिए । यसरी माउन्ट एभरेष्टको देश भनेर चिनाइरहँदा जलवायु परिवर्तनको समस्याको सेरोफेरोमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ । हामी सगरमाथा संवाद अगाडि बढाउन खोज्दै छौँ । समुद्र र हिमालको इकोसिस्टमको सेरोफेरोमा पनि भ्रमण सफल गराउन सकिन्छ कि भनेर लाग्नेछु । संसदीय तहमा पनि भ्रमण आदान–प्रदान गराउनेछु । अमेरिकी संसदीय सुनुवाइको प्रक्रियालाई अनुभव आदान–प्रदानको निमित्त पनि सहकार्य आवश्यक छ, मैले त्यो गर्न खोजेको छु ।’