बुढानीलकण्ठमा खानेपानीको ट्यांकी भत्काइयो, वार्डेनमाथि कारबाही माग
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले बागमती प्रदेश सरकारको खर्चमा बनेको खानेपानीको ट्यांकी भत्काइदिनुको साथै खानेपानीको पाइपसमेत काटिदिएको छ । निकुञ्जकै सहमतिमा बागमती सरकारले २५ लाख खर्चेर ट्यांकी निर्माण र पाइप बिछ्याउने काम गरेको थियो । तर, निकुञ्जका वार्डेन गणेश पन्तको निर्देशनमा गत साता ट्यांकी भत्काइएको खानेपानी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङले बताए ।
बुढानीलकण्ठ नगरपालिका– ५ छाप टुसाल गाउँका बासिन्दाका लागि निकुञ्ज क्षेत्रको मुहानमा ट्यांकी बनाइएको थियो । तर, भर्खरै मात्र निकुञ्जमा सरुवा भएका वार्डेन पन्तले ट्यांकी भत्कादिएको र खानेपानीको पाइपसमेत काट्न लगाएको आरोप छ । अध्यक्ष तामाङका अनुसार खानेपानी योजना सञ्चालनका लागि निकुञ्जले अध्ययन गरेपछि २८ साउन ०८० मा ट्यांकी निर्माणको अनुमति दिइएको थियो । ट्यांकी भत्काउँदा तीन सय परिवार प्रभावित भएको उनले बताए ।
तर, वार्डेन पन्तले भने निकुञ्जसँग खानेपानीको ट्यांकी निर्माणको नभई पानी मात्रै लैजान आवश्यक इन्टेक बनाउन अनुमति लिएको बताए । ‘इन्टेक बनाउन अनुमति दिइएको हो । उहाँहरूले दुईवटा ट्यांकी बनाउनुभएको छ । त्यो पनि जहाँ इन्टेक बनाउने भनेर सम्झौता भएको हो त्यहाँ होइन । मध्यवर्ती क्षेत्रमा इन्टेक बनाउने भनिएकोमा कोर एरिया (निषेधित क्षेत्र)मा बनाइएको छ,’ उनले भने, ‘त्यही भएर निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले ट्यांकी हटाएको हो ।’ यद्यपि, उपभोक्ता समितिका पदाधिकारीले दाबी गरेझैँ खानेपानी पिउनै समस्या हुने गरी कारबाही नभएको उनले बताए । ‘हामीले निकुञ्जको मुहानबाट निस्कने पानी वितरणमा कसैलाई पनि रोकेका छैनौँ,’ पन्तले भने । उपभोक्ता समितिका पदाधिकारीले वार्डेन गणेश पन्तमाथि कारबाहीको माग गर्दै बागमती प्रदेश सरकारमा निवेदन दिएका छन् । उनीहरूले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पुगेर मंगलबार वार्डेन पन्तमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका हुन् ।
उपभोक्ता समितिका पदाधिकारी र स्थानीयले उजुरी दर्ता गरेपछि खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । खानेपानीजस्तो विषयमा सबै पक्ष संवेदनशील हुनुपर्ने भन्दै उनले निकुञ्जसँग समस्या समाधानका लागि पहल गर्ने बताए ।