कोशीका पूर्वमुख्यमन्त्री एवं कांग्रेस सांसद केदार कार्कीले बजेट कटौतीको आरोप लगाउँदै थालेको आमरण अनशन अराजक र अनुशासहीन नौटंकी भन्दै एमाले प्रदेश सांसदले छानबिनको माग गरेका छन्।
प्रदेश सभाको बुधबारको बैठमा विशेष समय लिएर बोल्दै एमाले सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री एवं सत्ताधारी कांग्रेस सांसद केदार कार्कीले मंगलबारदेखि थालेको आमरण अनशनलाई अराजक नौटंकीको संज्ञा दिएका हुन्।
कार्कीले अराजक भएर अनशन बस्दा प्रदेशवासीको प्रतिष्ठामा आँच पुगेको भन्दै सांसद पाठकले संसदको पनि मानमर्दन भएको जिकिर गरे। उनले सांसद कार्कीको अनशनले जनतामा भ्रम सिर्जना गरेको र संसदीय मूल्यमान्यताविपरीत भएकाले संसद्ले छानबिन गर्नुपर्ने बताए। ‘सभामुख्यज्यू, सांसद कार्कीको अनशन संविधानको धारा १८७ को विरुद्धमा छ। यसैले विशेष समिति बनाएर छानबिन गरिनुपर्छ,’ उनले भने।
सांसद पाठकले केदार कार्की मुख्यमन्त्री हुँदा आफूलगायत धेरै सांसदले पेस गरेको बजेट कटौती हुनुका साथै प्रस्तुत भइसकेको बजेट नै संशाेधन गर्दासमेत कोही आक्रोशित भएर अनशनमा नबसेको स्मरण गराउँदै कटौती नै नभएको बजेटलाई लिएर अराजक शैलीमा एकैचोटि अनशन बसेर नागरिकलाई भुलभुलैयामा पारेको आरोप लगाए।
बहुमतबाट बनेको सरकारलाई योजना ल्याउने अधिकार हुने स्मरण गराउँदै उनले बजेटबारे भ्रम नछर्न कार्कीलाई आग्रह गरे। उनले मुख्यमन्त्री हुँदा कार्कीले घोषणा गरेका सबै कार्यक्रमहरूले निरन्तरता पाइरहेकाले अनशन व्यर्थ हो भन्दै सरकारसँग वार्ता गरी पहिले प्रस्ट हुन कार्कीलाई आग्रह गरे।
पूर्वमुख्यमन्त्री तथा सत्तागठबन्धनको दल कांग्रेसका प्रदेश सांसद कार्की आफूले घोषणा गरेका नौवटा कार्यक्रम वर्तमान सरकारले बजेटमा कटौती गरेको आरोप लगाउँदै मंगलबार दिउँसोदेखि विराटनगरमा आमरण अनशनमा बसेका छन्।