लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रूपमा मनाउने भएको छ। तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो। संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोर कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरू स्वीकृत गरेको छ।
आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराउने, कार्यालयपरिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपले मनाउनेबारेमा सूचनाहरू सार्वजनिक गर्ने निर्णय गरिएको छ।
त्यस्तै, संविधान कार्यान्वयनको पहिलो दशक : उपलब्धि र चुनौती विषयमा विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसका लागि फेडरलिजम एन्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गर्ने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। आमनागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दीपावली गर्न आह्वान पनि गरिएको छ।
असोज ३ गते संविधान दिवसको मूल समारोह आयोजना गरिनेछ। विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रसारण आमसञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ। यस्तै, असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयसम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको जनाइएको छ ।