फुङ्लिङ नगरपालिका– ९, हाङ्देवा (गुप्ते)का भीम घिमिरे तरकारी खेतीमा जमेका छन् । बिहान उज्यालो मिरमिरे हुँदा बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा व्यस्त हुने उनको बारीमा अहिले साग, मुला, काँक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । घिमिरे तरकारी बेचेरै वार्षिक २० लाखसम्म रुपैयाँ कमाउँछन् । ‘बजारको व्यवस्था नहुँदा सास्ती त छँदै छ,’ उनी भन्छन्, ‘तर, तरकारीले नै खर्च चलिरहेको छ ।’
फुङ्लिङ बजारमा धेरैजसो तरकारीको माग धानेको उनको भनाइ छ । घिमिरेका अनुसार हिउँदमा हरियो साग र वर्षायाममा तरकारी बजारमा पुर्याउन निकै सकस पर्छ । आठ वर्षअघिसम्म बारी बाँझो थियो । त्यही बाँझो बारी अर्गानिक तरकारी उत्पादनको थलो बनेको छ ।
हिउँदमा हिउँ पर्ने उक्त ठाउँमा अहिले भने तरकारी फलेको देख्न सकिन्छ । गरिब परिवारमा हुर्केका उनी संकटकालका वेला नेपाली सेनामा भर्ती भएर तीन वर्ष जागिर खाए ।
तर, विद्रोही पक्षबाट उनलाई दबाब आएपछि सेनाबाट भागे । राज्य र विद्रोहीतर्फको तारो बने र काठमाडौंमा लुकिछिपी केही वर्ष बसे । पछि शान्ति सम्झौतापछि विदेश हान्निएका घिमिरे नौ वर्षपछि घर फर्किए । बारी बाँझिएको वर्षौँ भएको थियो । त्यही बारीलाई जोतेर तरकारी खेती गर्ने विचार आएको उनले सुनाए ।
घिमिरे विदेशबाट फर्किएपछि वैदेशिक रोजगारबाट फर्केको लक्षित कार्यक्रमबाट तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तीन लाख रुपैयाँबाट भकारो बनाएर गाई–भैँसी किनेर कृषि व्यवसाय थालेका उनी अहिले ३५ रोपनी जग्गामध्ये १६ रोपनी जग्गामा तरकारी खेतीसमेत गर्छन् ।