बारामा श्रीमानद्वारा श्रीमतीको हत्या, दुई छोरी घाइते

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

इन्टरनेटमा रिचार्ज गर्ने विषयबाट सुरु भएको झगडाले उग्र रूप लियाे

बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका– ९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय विमलकुमार बस्नेतले मंगलबार राति ७:४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटकपटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा  मंगलबार राति ८ः१५ मा मृत्यु भएको हो ।

बुबाआमाको झगडा छुट्याउने क्रममा दुई छोरीसमेत घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनीहरूको सामुदायिक प्रसूतिगृह अस्पताल निजगढमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।

प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने विषयमा सुरु भएको झगडाले उग्र रूप लिएको थियो । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुईजनाको भनाभन भएकाे थियाे । मदिरामा मस्त श्रीमानले नजिकै रहेको धारिलाे हतियारले शौचालयमा रहेकी श्रीमतीलाई प्रहार गरेका थिए ।

श्रीमान् विमलकुमार बस्नेतलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहाले जानकारी दिए । उका अनुसार श्रीमतीको हत्या गर्ने बस्नेतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको छ । श्रीमान् र श्रीमतीबिच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयले बताएका छन् ।

See More On

सुझावित समाचार