प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।
संवैधानिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहबिच राष्ट्रपति पौडेललाई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, सुरक्षा अंगका प्रमुखलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो।