नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्टस् इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसाेसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल उसु महासंघ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरूले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिए। छलफलमा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी थिए ।
छलफलपश्चात् नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ। समझदारीपत्रमा उसु महासंघका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एसाेसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गरेका छन्।
एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरूको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरूलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसाेसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रूपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरूमा सहभागिता गराउने तथा खेल जागरण अभियानसमेत सञ्चालन गर्ने सहमति भएको छ ।
यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताए । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गरेकाे संघले जनाएको छ ।
उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताएका थिए । ट्रेडिसनल आर्चरी एसाेसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फानसमेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताए ।