नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले मंगलबार बिहान सिराहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए ।
०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिराहाको जनप्रतिनिधिको रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिराहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।
संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए ।
पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेन्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए । उनले त्यसका लागि स्थानीय पार्टी कमिटीहरूलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिए ।
त्यसअघि अध्यक्ष प्रचण्डले सिराहाकै गोलबजारमा स्थानीयसँग छलफल गर्दै आफूले सुरु गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।