नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य नेपाली टोली घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गर्दा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकालले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । तर, तीन प्रमुख खलाडीले स्थान बनाउन सकेनन् ।
क्यानले क्यानडा भ्रमणमा आइसिसी विश्वकस लिग–२ सँगै त्रिकोणात्मक टी–२० आई सिरिजका लागि खेलाडी छनोट गर्दा सन्दीप जोरा, आकाश चन्द र सागर ढकाल बाहिर भएका हुन् । सन् २०२३ आइसिसी विश्वकप एकदिवसीय छनोटमा अर्जुनले आयरल्यान्डविरुद्ध अन्तिमपटक खेलेका थिए । लगभग एक वर्षपछि अर्जुनले टोलीमा स्थान बनाएका हुन् ।
नेपालको राष्ट्रिय यू–१९ टोलीबाट खेलिसकेका रिजनले गत फेब्रुअरीमा क्यानडाविरुद्ध कीर्तिपुरमा खेलेका थिए । राष्ट्र्यि टोलीमा उनी २०२३ जुलाईपछि स्थान बनाएका हुन् । युवा क्रिकेट र देव खनाल पनि ट्राभल रिजर्भ खेलाडीका रूपमा समावेश गरेको क्यानले जनाएको छ । भारत तथा श्रीलंकामा खेलाडीले प्रशिक्षण गरेका थिए । प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा क्यानले अर्जुनलाई क्यानडाका लागि सामावेश गरेको हो ।
नेपालले क्यानडा भ्रमणलाई सुरुवातमा २२ सदस्य टोली
घोषणा गरेको थियो । भारतको बैंग्लोरमा नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेपछि स्पिनर बसिर अहमद, सूर्य तामाङ र तीव्र गतिका बलर कमलसिंह ऐरी श्रीलंका भ्रमणमा पर्न सकेका थिएनन् ।
लिगमा नेपालको दोस्रो सिरिज
नेपालले ६ महिनापछि आइसिसी विश्वकप लिग २ खेल्न लागेको हो । यसअघि काठमाडौंमै भएको सिरिजमा नेपालले एक खेलमा मात्र जित निकालेको थियो । नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । नेपालले गत १७ फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध नौ विकेटको सानदार जित निकालेको थियो । नेपालले नेदरल्यान्ड्ससँगको खेलमा २ सय ८ बल बाँकी रहँदै जित हात पारेको थियो ।
लिगको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेल २१ फेब्रुअरीमा नेपाल नामिबियासँग दुई विकेटले हार्यो । १५ फेब्रुअरीमा नामिबियाले नेपालमाथि चार विकेटको सानदार जित निकालेको थियो । नेपालले लिग २ पछि ओमान र क्यानडाबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।
८ टोली सहभागी विश्वकप लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबिच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो ।
सिनियर खेलाडीको बाहुल्य
क्यानले आइसिसी विश्वकप लिग २ का लागि घोषणा गरेको खेलाडीमा सिनियरहरूको बाहुल्य रहेको छ । पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने क्यानडामा भएको ग्लोबल टी–२० लिगमा सहभागी भएका थिए । उनी त्यहीँ नै एक महिनोखि अभ्यास गरिरहेका छन् । यसैगरी, कप्तान रोहित तथा दीपेन्द्रसिंह ऐरी पनि क्यानडामै छन् । यी दुवै खेलाडी पनि ग्लोबल टी–२० लिगमा सहभागी भएका थिए । रोहित आबद्ध क्लबले उपाधि जितेको थियो । क्यानडामा रहेका कारण यी तीनजना खेलाडीले भारतमा भएको प्रशिक्षण तथा श्रीलंकाको स्थानीय क्लबविरुद्धको अभ्यास खेलमा सहभागी भएनन् ।
१६ सेप्टेम्बरमा क्यानडाविरुद्ध खेल्दै
नेपालले लिगको दोस्रो त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमानको सामना नेपालले गर्नेछ । लिगको अंक तालिकामा क्यानडा तेस्रो स्थानमा छ । क्यानडाले आठ खेलबाट समान चार जित र चार हार सामना गरेको छ । आइसिसी विश्वकप लिग २ मा पहिलो चार खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । सुरुवाती चारै खेलमा जित निकालेको क्यानडाले आठ अंक जोडेको थियो ।
त्यसपछि क्यानडाले अमेरिका र नेदरल्यान्ड्ससित त्रिकोणात्मक सिरिजमा खराब प्रदर्शन गर्यो । क्यानडाले लगातार चार खेलमा हारको सामना गर्यो । चार खेलमा एक अंक पनि बटुल्न नसकेको क्यानडाले घरेलु सिरिजमा जित निकाल्ने अपेक्षा गरेको छ । नेपालले सामना गर्ने ओमान लिगको छैटौँ स्थानमा छ । ओमानले चार खेलमा एक जित र दुई हार सामना गरेको छ । ओमानले तीन अंक जोडेको छ । अंकतालिकामा युएई अंकविहीन छ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)
