अमेरिकामा भन्साररहित निर्यात सुविधा कायम राख्न निजी क्षेत्रको आग्रह

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखी आगामी दिनमा बढाउनका लागि भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा उनले आफ्नो धारणा राखे । 

अमेरिकाले सन् ०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानीसम्बन्धी सम्झौता (टिफा) परिषद्को बैठक महत्वपूर्ण रहेको उनको धारणा थियो । बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताए । 

यस अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथसाथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । 

सुझावित समाचार