खोलामा आएको बाढीले बगाउँदा बागलुङमा तीनजना युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले बगाउँदा तीनजना युवाको मृत्यु भएको हो ।
बाढीमा परी बानपा- ४ कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेको ध.२प ८०१० नम्बरको मोटरसाइकल र ध.१प ९९९६ नम्बरको स्कुटरमा सवार तीन युवाले ज्यान गुमाउनुपरेकाे छ ।
बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविशेक रेग्मी र २० वर्षीय कमल सापकोटाको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।
सापकोटा र रेग्मीको शव घटनास्थलबाट झन्डै सय मिटर तल फेला परेको यादवले बताए । कमलको शव खोलाले बगाएर केही तल पुऱ्याएको अवस्थामा भेटिएको छ ।
तीनवटै शव पोस्टमार्टमका लागि धौलागिरि अस्पतालमा ल्याइएको छ । प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको छ। बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।