पाण्डेलाई मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण
पाण्डेलाई मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड

अवार्ड ग्रहण गर्दै स्व. पान्डेका छोरा प्रवीण । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपी प्रसाईं टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ प्रदान गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पाण्डेले ग्रहण गरे।

पिपी प्रसाईं फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रदान गरेकी हुन्। होटेल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटेलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए।

फाउन्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरेको छ। जसमा कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेश प्रदेशबाट जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट  महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

साथै, गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कँडेल, कर्णाली प्रदेशबाट अमरज्योति माध्यमिक विद्यालय, सुर्खेतका अशोककुमार राई र सुदूरपश्चिम प्रदेशबाट सरस्वती माध्यमिक विद्यालयकी चन्द्रकला दवाडीले पुरस्कार पाए। उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। साथै, सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री प्रदान  गरिएको छ।

यसैगरी, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत एक लाख रुपैयाँ राशिको पुरस्कार राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहनस्वरूप प्रदान गरिएको छ।

देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरूको बुझाइ, शिक्षाप्रति उनीहरूको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरूको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यत्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ।

नेपालको पर्यटन क्षेत्रका ‘पायोनियर’ व्यक्तित्व एवं नटराज टुर एन्ड ट्राभल्सका संस्थापक प्रसाईंको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको विकासको सपनालाई आत्मसात् गर्दै २०६७ साल फागुन ६ गते पिपी प्रसाईं फाउन्डेसनको गठन गरिएको हो। प्रसाईंको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो।

सुझावित समाचार