आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। बोर्डका अनुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । 

सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन्। गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए। उनले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे । 

बोर्डको आँकडाअनुसार अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा ६ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कुन महिनामा कति पर्यटक

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।

के छ पर्यटक बढाउने सरकारी योजना ?

कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ। सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालू आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजबारे स्वदेश तथा विदेशमा प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ। पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ।

See More On

सुझावित समाचार