अन्टार्टिका पुग्ने पहिलो नेपालीलाई गृहजिल्लामा सम्मान

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

अन्टार्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्टिकामा पहिलो पाइला टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।

नौ करोड रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। बागलुङ– १४ नारायणस्थानमा जन्मिएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुन्। उनी भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रूपमा त्यहाँ  पुगेका थिए।

प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाएकाे नगरपालिकाले जनाएको छ । ‘बागलुङमा जन्मेर अन्टार्टिकामा पुग्ने पहिलो नेपालीका रूपमा देशभर परिचय बनाइसक्दा उनकाे गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘बागलुङ जिल्लाको नाम चिनाउन उनकाे  महत्त्वपूर्ण योगदान छ ।’

विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका– ११ मा बस्दै आएका छन् । उनका नाममा बुटवल उपहानगरपालिकाले ‘भुुवनसिंह मार्ग’ भनेर सडकको नामकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृहपालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताए। उनले गृहनगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गरे। ‘नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमबिच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु,’ विश्वकर्माले भने । 

सुझावित समाचार