अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू ओपिडीमा आइपुग्ने धेरैजसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाती दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरैजनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ ।

खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ । ‘धेरै चिल्लो र गुलियो खाने, तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा. कोजू भन्छन् । 

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

 विश्व स्वास्थ्य संगठठन (डब्लुएचओ)का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्। जुन विश्वव्यापी रूपमा हुने मृत्युको ७४ प्रतिशतबराबर हो । हरेक वर्ष एक करोड ७० लाख मानिसले नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन् । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् । 

कार्डियो भास्कुलर रोग (सिभिडी)बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रूपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारक अस्वस्थकर जीवनशैली नै देखिएको छ । सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धूम्रपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहं भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ । 
    
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घरोग, सूक्ष्म जीवाणुका माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । यो रोगबाट जुनसुकै उमेरका व्यक्ति प्रभावित हुन सक्छन् । उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ । 

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई भन्छन्, ‘वंशाणुगतबाहेक जंकफुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ । सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ । यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयाघातजस्ता समस्या आउन सक्छन् ।’

नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने उनी बताउँछन् । नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ । 

सुझावित समाचार