काठमाडौंको विष्णुमती नदीले जलसतह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बुधबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
‘विष्णुमतीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भई बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
त्यसैगरी, सिन्धुलीको कमलानदी रानीवासस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेको उल्लेख गर्दै विभागले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेलाई बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आज कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । साथै आज दिउँसो कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने र राति कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।