ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बुधबार उडान भएको छ। बुधबार मौसम केही खुलेपछि ताप्लेजुङ–काठमाडौं उडान भएको हो । नेपाल वायुसेवा निगमले बुधबार बिहान उडान तालिका राखेबमोजिम जहाज आएर फर्किएको जिल्लास्थित कार्यालय प्रमुख नारायणकुमार कार्कीले बताए ।
कार्कीले बिहान ६ः१५ मा काठमाडौंबाट उडान गरिएको बताए। बिहान ७ बजेर २३ मिनेटमा सुकेटार विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो ।काठमाडौंबाट चारजना यात्रु लिएर ताप्लेजुङ आएको विमानले दुईजना यात्रु बोकेर काठमाडौं गएको प्रमुख कार्कीले बताए ।
गत जेठ ११ गतेदेखि काठमाडौं–ताप्लेजुङ उडान हुन सकेको थिएन । गत साउन ३० गतेका लागि पनि उडान तालिका राखिएको थियो । यात्रु नभएका कारण उक्त दिन उडान गर्न नसकिएको कार्यालयले जनाएको छ ।
बुधबारको लागि पनि यात्रुहरू दुईजना मात्र रहेका थिए । लामो समय उडान नहुनु, भरपर्दो सेवा नभएकाले पनि यात्रुहरूको विश्वास गुमेको छ। कार्यालयको कार्यसूची तालिका भए पनि जहाज नआउँदा यात्रुहरू नहुने गरेको बताइन्छ । हाललाई हप्तामा एक दिन बुधबार मात्रै उडान तालिका राखेको निगमले मौसम खुलेर यात्रु भए उडान तालिका थप्ने योजना रहेको बताएको छ ।