प्रधानमन्त्रीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकलाई साइबर अपराधको मुद्दा

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । 

गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन् । रावल सिन्धुपाल्चोकको बाह्रबिसेस्थित किस्टोन अस्पतालका कर्मचारी हुन् । बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले सोमबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो । 

प्रहरीका अनुुसार उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए । त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । 

पक्राउ परेका युवकले आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मन पर्ने र शाहको समर्थनमा बनाइएका पोस्टहरू आफूले सेयर गरेको बताएका छन् । यसरी फेसबुकमा आलोचना गरेकै आधारमा मुद्दा चलाइएकोमा सरकारबाट दमन भएको भन्दै युवकका आफन्तले प्रहरीप्रति असन्तुष्टि जनाएका छन् । यो घटनामा प्रहरीले असम्बन्धित व्यक्तिको जाहेरी लिएर मुद्दा चलाएको देखिन्छ । 

यसअघि गत १० भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेकै आधारमा प्रहरीले तीन युवकलाई पक्राउ गरी शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । सर्वत्र दबाबपछि उनीहरू चौथो दिनमा जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका थिए । 

सुझावित समाचार